• २९ पुस २०८१, सोमबार

एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोरः सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं, पुस २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताउनुभएको हो ।

उहाँले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको जानकारी दिनुभयो । उहाँले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको औंल्याउनुभयो ।

‘‘हिजो अस्तिको अध्यादेशमा पनि आएको छ । त्यो सुशासन कसरी कायम गर्ने भनेर । नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ । नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग । सुशासनमा यत्ति महत्त्वपूर्ण भूमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ । एआई र इ गभर्नेन्सको विषयसँग जोडिएको विषय छ ।,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एसियामै सबैभन्दा पछाडि छौँ ।’’

मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताउनुभयो ।