कैलाली, पुस २८ गते । जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन अझै हुन सकेको छैन । छाडा पशु चौपाया व्यवस्थापन नहुँदा कृषक हैरान भएका छन् । दुध दिउन्जेलसम्म गाई पाल्ने र दुध दिन छाडेपछि जथाभावी छाड्ने प्रवृत्ति नरोकिएकाले चौपाया व्यवस्थापनमा चुनौती बढ्दै गएको हो ।
छाडा पशु व्यवस्थापनमा समस्या भएको धनगढी उपमहानगरपालिका —३ चटकपुरस्थित गौ संरक्षण सेवा समितिका अध्यक्ष भोजराज पाठकले बताउनुभयो ।
पहिले यहाँका स्थानीयका प्रत्येक घरमा दुध खानका लागि गाई पाल्दथे । सोही गाईबाट जन्मिएको गोरु कृषकले खेत जोत्न प्रयोग गर्थे । कृषि प्रणालीमा भएको आधुनिकीकरणसँगै गोरुको प्रयोग गर्ने घटे । जसले गर्दा पशुचौपाया छाडने प्रवृत्ति हट्न नसकेको अध्यक्ष पाठकको भनाइ छ ।
उहाँले छाडा पशुचौपायाको पूर्ण व्यवस्थापन गर्न कसैले व्यक्तिगत रुपमा नलिई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । छाडा पशुचौपायाले यहाँका किसानले हैरानी खेप्दै आएका छन् । उनीहरुलाई बाली तथा तरकारी जोगाउन सकस छ । पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थीले गोठमा पालेका गाई–गोरु छाड्ने कार्य नरोकिएकाले बजारमा सडक दुर्घटनाको जोखिम भएको बताउनुभयो ।
धनगढीको ६ लेन सडकमा दैनिक एक दुई गाईगोरु गाडी दुर्घटनाबाट मर्ने तथा घाइते हुने गरेका छन् । छाडा चौपाया दिनभर बजारलगायत क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीको बालीनाली, तरकारीमा चर्ने गरेको स्थानीय कृषक टेक जोराको भनाइ छ । धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशुचौपाया व्यवस्थापनका लागि वडा ७ स्थित देवहरियामा गौशाला निर्माण गरिएको छ ।
धनगढी– ३ चटकपुरमा पनि केही वर्षअगाडि देखि गौ संरक्षण सेवा समितिद्वारा गौशाला सञ्चालनमा ल्याई छाडा पशु व्यवस्थापन गरिएको छ । त्यसैगरी धनगढीको फूलबारी र बेहडाबाबामा गौशाला सञ्चालनमा ल्याइएको छ । जिल्लाका विभिन्न स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन् । छिमेकी राष्ट्र भारतीय सीमा नाकाबाट पनि चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको स्थानीयको भनाइ छ । रासस