• १ जेठ २०८२, बिहिबार

‘इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पार्‍यो’

blog

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई । फाइल तस्बिर

इस्लामाबाद, पुस २८ गते । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताउनुभएको छ । 

“गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नै नष्ट गरेको छ”, पाकिस्तानले आयोजना गरेको र दर्जनौँ देशका प्रतिनिधिहरूले भाग लिएको मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “उनीहरूले सबै विश्वविद्यालयमा बमबारी गरेका छन्, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेका छन् र विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूलाई अन्धाधुन्ध आक्रमण गरेका छन् । म इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै निरन्तर आवाज उठाउनेछु ।” 

शिक्षा अभियानका कारण आक्रोशित पाकिस्तानी उग्रवादीहरूले १५ वर्षकी विद्यार्थी हुँदा युसुफजाईमाथि गोली प्रहार गरेका थिए । बेलायत लगिएपछि उहाँले उल्लेखनीय स्वास्थ्यलाभ गर्नुभयो र १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता बन्नुभयो ।

“प्यालेस्टिनी बालबालिकाले आफ्नो जीवन र भविष्य गुमाएका छन् । यदि एक प्यालेस्टिनी बालिकाको विद्यालयमा बमबारी गरिन्छ र उनको परिवार मारिन्छ भने उनले आफूले पाउनुपर्ने भविष्य पाउन सक्दिनन्”, उहाँले भन्नुयो ।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको थियो । आक्रमणमा इजरायली पक्षका अधिकांश सर्वसाधारणसहित एक हजार २०८ जनाको मृत्यु भएको थियो । 

आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए । तीमध्ये ९४ जना अझै गाजा पट्टीमा छन् र त्यसमा पनि इजरायली सेनाले ३४ जनालाई मृत घोषित गरेको छ ।

गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ४६ हजार ५३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश नागरिक छन् । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मानेको छ । रासस/एएफपी