• २८ पुस २०८१, आइतबार

तेत्तिस विद्यालयलाई सहयोग

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २८ गते । ‘क्यालिटी’ परियोजनाको कार्यान्वयनका लागि छनोट भएका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्रदायक शिक्षण संस्थालाई गुणस्तरीय शिक्षाका लागि विद्यालय/शिक्षालयलाई बागमती प्रदेश सरकारले सहयोग प्रदान गरेको छ । 

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् बागमती प्रदेश, हेटौँडाले प्रदेशभित्रका शिक्षालय र सामुदायिक विद्यालय गरी ३३ वटा शिक्षण संस्थालाई सहयोग प्रदान गरेको हो ।

सामाजिक विकास मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षण संस्था सुधार योजनाको कार्यान्वयन तथा आइसिटी सामग्री व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि शिक्षण संस्था र परिषद्बिच सम्झौता भएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरे, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामालगायतका उपस्थितिमा भएको कार्यक्रममा शिक्षण संस्थासँग सम्झौता गरिएको हो ।

चालु आवमा ‘क्यालिटी’ परियोजना कार्यान्वयन गर्न छनोट भएका ६२ वटा शिक्षण संस्थामध्ये शिक्षालय र सामुदायिक विद्यालयबाट शिक्षण संस्था सुधार योजना कार्यान्वयन र आइसिटी सामग्री व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रस्ताव माग गरी ३३ वटा शिक्षण संस्था छनोट गरिएको परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिनुभयो । शिक्षण संस्थाबाट प्राप्त प्रस्तावका आधारमा तोकिएको मापदण्डबमोजिम शिक्षण संस्था शिक्षा विकास निर्देशनालय, बागमतीको सिफारिसमा परिषद्ले छनोट गरेको थियो । विद्यालय सुधार योजना कार्यान्वयनका लागि २० विद्यालय र आइसिटी सामग्री व्यवस्थापनका लागि १३ वटा विद्यालय छनोट गरिएको भन्दै परिषद्का कार्यालय प्रमुख चौधरीले छनोटमा परेका २० वटा शिक्षण संस्थालाई पाँच लाख र बाँकी १३ वटा शिक्षालय/विद्यालयलाई तीन लाख रुपियाँका दरले आइसिटी सामग्री व्यवस्थापनका लागि सम्झौता भएको बताउनुभयो । 

छनोटमा परेका शिक्षण संस्थासँग सम्झौता भएको र सम्झौतामा अनुदानबाट शिक्षण संस्थाले सञ्चालन गर्ने कार्यक्रम र त्यसको कार्ययोजना समावेश गर्नुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ । 

छनोटमा परेको शिक्षण संस्थाले सम्झौता अनुसार प्रदेश सरकारबाट प्राप्त गरेको पाँच लाख रुपियाँबाट शिक्षण संस्था सुधार योजनासम्बन्धी कार्यक्रम अन्तर्गत रणनीतिक योजना, कार्यविधि, योजना तयार गर्ने, लैङ्गिक तथा सामाजिक समावेशिता र सञ्चारसम्बन्धी नीति/रणनीति बनाउने र हरित टिभिइटी नीतिसहितको कार्यक्रम कार्यान्वयन रणनीति तयार गर्नुपर्ने हुन्छ । यस्तै कक्षाकोठा, प्रयोगशाला सुधार, मेसिन र उपकरण खरिद गर्ने, प्रयोगशालामा मेसिन मर्मत, रोजगार सेवा एकाइ स्थापना, रोजगार अवस्थाको तथ्याङ्क सङ्कलन, उद्योग, व्यवसाय, रोजगारदाता तथा शिक्षण संस्थासँगको सम्बन्ध विस्तारको योजना र कर्मचारीलाई व्यावसायिक सिप अभिवृद्धि तालिममा पठाउनुपर्ने हुन्छ । मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ र दोलखाका शिक्षण संस्था कार्यक्रमका लागि छनोटमा परेका छन् ।