• २८ पुस २०८१, आइतबार

बढे भ्रष्टाचारका उजुरी

blog

बैतडी समाचारदाता 

बैतडी, पुस २८ गते । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारसम्बन्धीका उजुरी बढ्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा ७१४ हजार उजुरी परेकोमा आव २०८०/८१ मा उजुरीको सङ्ख्या दोब्बरले बढेर एक हजार ४७० पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले शुक्रबार बैतडीमा सुशासन प्रवर्धनका लागि सरोकारवाला निकायबिच अन्तर्क्रिया गर्दै प्रदेशमा भ्रष्टाचारका उजुरी बढेको तथ्याङ्क सार्वजनिक गरेको हो । 

जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजित कार्यक्रममा आयोगका कञ्चनपुर कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय भ्रष्टाचारका उजुरी बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नै अख्तियारको कार्यालयमा घुस दिन रकम बोकेर आउन थालेका छन् । 

अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हाल नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले अख्तियारका कर्मचारीलाई घुस दिन खोजेपछि सापकोटा उपर यही पुस २५ गते घुस/रिसवत दिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेका छौँ ।”

कञ्चनपुर कार्यालयमा प्राप्त उजुरी दुई हजार १८४ मध्ये ७० प्रतिशत फस्र्योट भई ४९९ उजुरीमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । अख्तियारमा स्थानीय तहका धेरै उजुरी आउने गरेको बताइएको छ । शिक्षा, स्वास्थ्य, वन र विकास निर्माणमा अनियमितता भएको बारेमा उजुरी पर्ने गरेको आयोगको तथ्याङ्कमा उल्लेख छ । 

आयोगमा देशभरिबाट आव २०८०/८१ मा परेका ३६ हजार १८६ वटा उजुरीमध्ये १२ हजार ७८६ लाई अन्य कारबाही भएको छ । त्यसै गरी ९३२ वटा उजुरी विस्तृत अनुसन्धानमा गएका छन् भने १३ हजार पाँच सय उजुरी तामेलीमा राखिएका छन् । आयोगले बितेका पाँच वर्षमा एक हजार ४८ वटा मुद्दाका चार हजार ६१५ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको छ । विशेष अदालतमा दायर भएका मुद्दाको तथ्याङ्क अनुसार आव २०७६/७७ मा ४११, आव २०७७/७८ मा ११३, आव २०७८/७९ मा १३१, आव २०७९/८० मा १६२ र आव २०८०/८१ मा २०१ वटा मुद्दा दायर भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

अन्तर्क्रिया कार्यक्रममा बैतडीका स्थानीय तहले बजेट अबण्डा राखेर कार्यपालिकाको निर्णयबाट बजेट दुरुपयोग हुने गरेको नागरिक समाजका देवबहादुर चन्दले गुनासो राख्नुभयो ।