धनगढी समाचारदाता
धनगढी, पुस २७ गते । कैलालीको थारू गाउँमा माघ (माघी) पर्वको चहलपहल सुरु भएको छ । माघ नजिकिएसँगै गाउँघरमा चहलपहल हुन थालेको हो । गाउँबस्तीमा माघको तयारीसँगै माघ महोत्सव, माघ मिलनलगायतका पर्वसँग सम्बन्धित कार्यक्रम हुन थालेका छन् । यसै गरी बस्तीहरूमा माघका गीत सङ्गीत गुञ्जिन थालेका छन् । माघमा गाइने परम्परागत मौलिक गीत गाएर बुढापाका रमाउन थालेका छन् ।
तीन दिनसम्म हर्षोल्लासपूर्वक मनाइने माघ पर्व पुस अन्तिम दिनबाट सुरु हुने गर्दछ । चाडपर्व नजिक आएसँगै गाउँघरमा माघको चहलपहल बढिरहेको धनगढी उपमहानगरपालिका–५, जाइका भलमनसा कुलवीर चौधरीले बताउनुभयो । “माघको तयारी लगभग भइसकेको छ,” उहाँले भन्नुभयो ।
मुलुकको पश्चिम तराईमा बसोबास गर्ने थारू समुदायका मानिसले यो पर्वमा मघौटा नाचसमेत नाच्ने गरेका छन् । आफ्नो गाउँवासीले पनि हरेक वर्ष मघौटा नाच नाच्दै आएको जनाउँदै भलमनसा चौधरीले त्यसको तयारी भइरहेको बताउनुभयो । माघका लागि दाउरा सङ्कलन गर्ने, वनबाट पात टिप्ने, दुनाटपरी बनाउने, जिता खोज्ने, कुटानीपिसानी र आवश्यक किनमेल गर्नेलगायतका कार्य हप्ता दिनअगाडिबाटै चल्ने गर्दछ । धुमधामसँग पर्व मनाउनका लागि यतिबेला थारू गाउँबस्ती माघको तयारीमा जुटेको छ ।
माघ यो समुदायको सबैभन्दा ठुलो र स्वतन्त्रताको पर्व पनि हो । विगतमा मुक्त कमैया, कमलरी बसेकाहरूले माघ पर्वमा मात्रै मालिकका घरबाट बिदा पाउने गर्दथे । त्यसैले माघलाई स्वतन्त्रताको पर्वका रूपमा पनि लिने गरिन्छ । यसै गरी यो थारू समुदायको नयाँ वर्ष पनि हो । माघ पर्वमा गाउँघरको नेतृत्व गर्नका लागि भलमनसा (बडघर) छान्ने, विगतका कार्यको समीक्षा तथा मूल्याङ्कन गर्ने र आगामी दिनका लागि वार्षिक योजना बनाउने जस्ता कार्य हुने गर्दछ ।
यस पर्वको पहिलो दिन जिता मारेर मिठो मसिनो खाने र रातभरि ढमार, ढुमरुलगायतका परम्परागत लोकगीत गाउँदै राहरङ्गी (रमाइलो) गर्ने गरिन्छ । दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर मान्यजनबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । पर्वको अन्तिम दिन माघी डेवानी गरेर गाउँको नेतृत्वकर्ता चयन गर्ने चलन रहेको छ ।