रङ्गेली समाचारदाता
विराटनगर, पुस २७ गते । सिमेन्टमा पछिल्लो समय अत्यधिक मूल्यवृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित छन् । उनीहरूले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्रीसमेत नगर्ने चेतावनी दिएका छन् । उद्योगले कार्टेलिङ गरेर मूल्यवृद्धि गरेको विरोधमा मोरङ–सुनसरीका हार्डवेयर व्यवसायीले बिहीबार साँझ विराटनगरमा आकस्मिक बैठक बसेर शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन् । उत्पादक उद्योगविरुद्ध व्यवसायीले शुक्रबार एक दिनका लागि सुनसरी जिल्लाका सबै हार्डवेयर पसल बन्द गरेर विरोध जनाएका छन् ।
विराटनगरका हार्डवेयर पसलले पसलअगाडि ब्यानर टाँगेर विरोध जनाएका हुन् । ‘सिमेन्टको मूल्यवृद्धिविरुद्ध हामी आन्दोलित छौँ’ लेखिएको ब्यानर पसलअगाडि टाँगिएको छ ।
मोरङ–सुनसरीका डिलर र अन्य व्यवसायीले शुक्रबारदेखि उद्योगमा सिमेन्टको अर्डर गर्न बन्द गरेको जनाइएको छ । विराटनगर हार्डवेयर सङ्घका महासचिव देवीप्रसाद पोखरेलले ढुवानी व्यवसायीलाई पनि उद्योगबाट सिमेन्टको ढुवानी नगर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।
सुनसरी हार्डवेयर सङ्घर्ष समितिका संयोजक माधव पाठकले उद्योगले अति गरेपछि व्यवसायी आन्दोलित हुनु परेको बताउनुभयो ।
उहाँले उपभोक्ताले खरिद गर्नै नसक्ने गरी मूल्य बढाउने कार्यलाई सरकारले रोक्नुपर्ने माग गर्नुभयो । उहाँले मङ्सिर १ यता लगातार वृद्धि भएको मूल्यले कारोबार ठप्प भइरहेको बताउँदै सरकारले त्यो मूल्य कायम गराउनुपर्ने माग गर्नुभयो । “मङ्सिर १ गतेको मूल्यमा कारोबार गर्ने वातावरण नभए सिमेन्ट खरिद गर्न सकिँदैन । यसले समग्र देशको पूर्वाधार निर्माणलाई समेत असर गरिरहेको छ ।” पाठकले भन्नुभयो ।
विराटनगर हार्डवेयर सङ्घका महासचिव पोखरेलका अनुसार मङ्सिरको पहिलो हप्तामा उद्योगले विराटनगरस्थित पसललाई ओपिसी सिमेन्ट बोराको ५७५ रुपियाँमा उपलब्ध गराउँदै आएका थिए । खुद्रा पसलेले उपभोक्तालाई छ सय रुपियाँमा बिक्री गर्दथे ।
“पुस लागेपछि उद्योगले बोराको ८२० रुपियाँ लिन थालेका छन् । उपभोक्ताले ८२० प्रतिबोरा खरिद गर्नुपर्ने अवस्था छ । किन मूल्यवृद्धि गरिएको हो ? भन्ने आधिकारिक धारणा उद्योगीले सार्वजनिक गरेका छैनन् । सरकारले यसलाई रोक्ने उपाय खोज्नु पर्छ,” पोखरेलले भन्नुभयो ।
अर्को समस्या भनेको उद्योगले डिलरलाई दिने सिमेन्टमा ७० प्रतिशत कटौती गरेका छन् । हेर्दा उत्पादन नभएर जस्तो देखिए पनि कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको व्यवसायीको बुझाइ छ । स्थानीय तहले निर्माणका काम सुरु गरेपछि सिमेन्टमा बढाइएको मूल्यले कामसमेत ठप्प छ । उपभोक्तालाई नै सिमेन्ट दिन नसक्ने अवस्थामा विकास निर्माणका संलग्न ठेकेदारलाई सिमेन्ट बिक्री गर्न नपुगिरहेको उनीहरूको भनाइ छ । मङ्सिरमा १० गाडीसम्म सिमेन्ट उपलब्ध गराउने उद्योगले अहिले तीन गाडी मात्रै उपलब्ध गराउने गरेका हुन् ।