अविनाश चौधरी
धनगढी, पुस २५ गते । कैलालीको थारू बस्तीमा माघ (माघी) पर्वका लागि जिता अभाव देखिएको छ । पहिलेको तुलनामा गाउँघरमा सुङ्गुर, बङ्गुर कम रहेकाले पर्वका लागि जिता अभाव भएको बरघरहरूको भनाइ छ ।
सबैभन्दा ठुलो माघ पर्वका लागि सुङ्गुरको मासु पाउन समस्या भएको सो समुदायका मानिसले बताएका छन् । माघ पर्वको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन हरेक थारू गाउँमा सुङ्गुर मार गर्ने गरिन्छ । जसलाई जिता मर्ना भनिन्छ । पर्व आउनु एक महिना वा हप्तादिन अगाडि मासु लिनेको नामवली तयार पारेर जिता मार्ने र सोहीअनुसार सबैले बाँडीचुँडी मासु लिने गरिन्छ ।
पछिल्लो केही वर्षयता फैलिएको विभिन्न रोगका कारण सुङ्गुर मरेका र बाँकी रहेकालाई मासु व्यापारीहरूले किनेका कारण चाडपर्वका लागि सुङ्गुरको मासु पाउन मुस्किल भएको धनगढी उपमहानगरपालिका –८ का काजी थारूले बताउनुभयो ।
सहरी क्षेत्रमामात्रै नभई गाउँघरमा पनि यही समस्या रहेको छ । गाउँघरमा रहेका सुङ्गुर मासु व्यापारीले किनेकाले माघका लागि मासु पाउन मुस्किल भएको कैलारी गाउँपालिका –७ का फूलराज चौधरीले बताउनुभयो । उहाँले गाउँमा माघका लागि पर्याप्त जिता नरहेको जानकारी दिनुभयो ।
सुङ्गुरको मासु नपाइएकाले माघी बिग्रिने चिन्ता रहेको थारू समुदायका व्यक्तिले बताएका छन् । अचेल सबै समुदायका मानिसले सुङ्गुरको मासु खाने र खपत बढेकाले चाडपर्वका लागि सुङ्गुरको मासु पाउन समस्या भएको धनगढी उपमहानगरपालिका स्तरीय नगर भलमनसा समितिका अध्यक्ष रोहित चौधरीले बताउनुभयो । उहाँले आफूले माघ पर्वका लागि बडो मुस्किलले मासु पाएको उल्लेख गर्नुभयो ।
नयाँ वर्षसमेत रहेको माघ पर्वमा थारू समुदायका मानिसले वर्ष दिनको दुःखपीडा बिर्सेर खुसीयाली साटासाट र रमाउने गर्दछन् । यो पर्वमा विशेषगरी सुङ्गुरको मासु, ढिक्री खाने र मघौटा नाच नाच्दै रमाइलो गर्ने चलन रहेको छ । यसैगरी, परम्परागत ढमार र ढुमरु गीत गाएर मनोरञ्जन गर्ने गरिन्छ ।
साता दिनसम्म उल्लासपूर्वक मनाउने माघ पर्वको रौनक थारू गाउँमा सुरु भइसकेको छ । मानिसहरू तयारीमा जुटेका छन् ।