• २६ पुस २०८१, शुक्रबार

हिउँ परेन, चिसो मात्रै बढ्यो

blog

धारापानी इलाकामा सडक निर्माण हुँदै ।

यदुप्रसाद भट्ट

मनाङ, पुस २५ गते । जलवायु परिवर्तनका कारण समयमै हिउँ नपर्दा विगत वर्षको तुलनामा यस वर्ष मनाङमा ह्वात्तै चिसो बढेको छ । पुसको अन्तिम सातासम्म आइपुग्दा पनि दिनानुदिन चिसो बढ्दा जीवनयापन कष्टकर बन्दै गएको छ । 

हिजोआज रातिको समयमा माइनस १२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम झरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, "प्रकृतिको नियम नै फेरिएको जस्तो गरी अन्तिम पुसमा पनि हिउँ नै नपरी चिसो मात्रै बढेको छ ।" जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण पिउने पानीसमेत जमेको छ । प्रकृतिको भरमा खेती गर्नुपर्ने मनाङमा किसानमा निराशा छाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "खोलानाला, ताल, छहरा तथा धारामा पिउने पानीसमेत जमेको अवस्था छ ।"

उहाँले ९० प्रतिशत स्थानीय तल्लो भागमा झरिसकेको बताउँदै भन्नुभयो, "यतिबेला एक त चिसोले सुनसान बनेको मनाङ त्यसैमाथि स्थानीयहरु तल्लो भाग, लमजुङको बेँसीसहर, पोखरा तथा काठमाडौं गइसकेका छन् । स्थानीय नहुँदा र अत्यधिक चिसो बढ्दा सुनसानजस्तै छ ।" प्रजिअ आचार्यले केही कर्मचारी गोष्ठी तथा छलफलका लागि पोखरा काठमाडौं गए पनि कार्यालयहरु पूरै खाली नभएको तर्क गर्नुभयो । आलोपालो गरी एक दुई जना कर्मचारीले सेवा दिने गरी कार्यालयको व्यवस्थापन गरिएकोमा उहाँले जोड दिनुभयो । 

यसैबिच चिसोले गर्दा नै हिउँदको समयमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनै पनि अवस्थामा चनाखो रहने जिल्ला विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरिएको छ । प्रजिअ आचार्यले भन्नुभयो, "विपद्जन्य जोखिम जे हुन सक्छ त्यसको पूर्वआङ्कलन गरेर त्यसका लागि पूर्वतयारी र प्रतिकार्य तयारीका लागि बस्न सबै पालिकालाई पत्राचार गरिएको छ । साथै सम्बन्धित विषयगत कार्यालयहरुलाई सोहीअनुसार तयारी गर्न निर्देशन गरिएको छ ।"

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी आचार्यले चारवटै पालिकाका प्रमुख तथा सुरक्षानिकायका प्रमुखहरुलाई सम्भावित परिस्थितिसँग जुध्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभयो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाबमोजिम गाउँपालिका स्तरमा विपत्ति तथा हिमपातजन्य विपद्को अवस्थामा आवश्यक पर्ने विपद् उद्धार र राहत सामग्रीहरू तयारी अवस्थामा राखिने, आवश्यकताका आधारमा सबै स्थानीय तह, सुरक्षा निकाय, अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

सदरमुकाम चामेभन्दा माथिका स्थानमा पूर्वाधारलगायतका विकास निर्माणका कार्यहरु ठप्प भएका छन् । नासोँ गाउँपालिकाको धारापानी इलाकातिर भने जलविद्युत् आयोजनाको सहयोग र समन्वयमा सडकसम्बन्धी कार्यहरु भइरहेको उहाँले बताउनुभयो ।