• २६ पुस २०८१, शुक्रबार

छेपेटारमा वृद्धाश्रमको भवन निर्माण सकियो

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस २५ गते । गोरखा नगरपालिका–१० छेपेटारको ठुटेबजारमा रहेको वृद्धाश्रम भवन निर्माण सम्पन्न भएको छ । अशक्त, ज्येष्ठ नागरिकहरुको लागि जीवनयापन सहज ढंगले व्यवस्थापन गर्ने उद्देश्यले ५ वर्षअघि निर्माण सुरु गरिएको उक्त भबन ठेकदारले विभिन्न कारण देखाउँदै रङ्गरोगन लगायतका केहि कामहरु बाँकी राखेकोमा अहिलने भने सम्पूर्ण काम सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखका सूचना अधिकारी सर्मिला थापाले जानकारी दिनुभयो । 

गोरखा नगरपालिकाको–१० छेपेटारमा रहेको सरकारी ३ रोपनी जग्गामा बनेको सुविधा सम्पन्न वृद्धश्रममा १ गार्डरुम, १ सभाहलसहित २४ कोठामा एसी सहित जडान गरिएको छ ।   

वृद्धश्रमको भवन कुल ५ करोड २९ लाख २९ हजार ३ सय ९३ रुपियाँमा बजेटमा निर्माण गरिएको इन्जिनियर सर्मिला थापाले बताउनुभयो । पूर्वाधार कार्यालय गोरखा र आशिष ईको जेभी खैरेहनी चितवन बिच २०७६ साल भदौ १ गते सम्झौता भई २०७८ भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीको लापारवाही र ढिलाचुस्तीले गर्दा भवन निर्माण हुन लम्बिएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । 

निर्माण कम्पनीले कोभिड लगायत विविध कारणहरु देखाउँदै पटकपटक गरी ३ पटक म्याद थप गरिएको छ । तेस्रो पटक २०८१ पुस २२ गतेसम्म सम्पन्न गर्नुपर्ने अन्तिम म्याद रहेको थियो । अहिले त्यस भवनको वरीपरी नाली, बाटो, बिजुली, झयालढोका र मुख्यगेट समेत सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेशराज सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीलाई पटकपटक बोलाएर समयमै काम सम्पन्न गर्न आग्रह गर्दै तोकिएको मितिमा काम सम्पन्न नगरे कडा रुपमा कार्यालयले कदम चाल्ने जानकारी गराएपछि निर्माण कम्पनीले धमाधम काम सुरु गरी भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो । 

भवन निर्माण सम्पन्न भएकाले भवन गोरखा नगरपालिकालाई हस्तान्तरण गर्न भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार गरिसक्याैँ, कार्यालय प्रमुख सुबेदीले भन्नुभयो, “मन्त्रालयको पत्र आउने बित्तिकै एक कार्यक्रमका बीच वृद्धाश्रमको भवन गोरखा नगरपालिकाको स्वमित्वमा रहने गरी बुझाईने तयारी भएको पूर्वाधार कार्यालय प्रमुख सुबेदीको भनाइ छ ।” 

पूर्वाधार कार्यालय गोरखाले भवन हस्तान्तरण गरेपछि त्यसको रेखदेख व्यवस्थापनको सम्पूर्ण जिम्मा गोरखा नगरपालिकाले लिने गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले जानकारी दिनुभयो।