गृहयुद्धमा होमिएको मध्यपूूर्वको अस्थिर मुलुक सिरियामा राष्ट्रपति बसर अल असद सत्ताच्युत भएसँगै राजनीतिक रिक्तता देखिएको छ । अहमद अल साराको नेतृत्वमा रहेको विद्रोही समूह हायात तहरिर अल–सामले डिसेम्बर ९ मा राजधानी दमास्कसमाथि कब्जा जमाएसँगै राष्ट्रपति असद भागेर रुसमा शरण लिन गएका छन् । अब सिरियामा कसले कसरी शासन गर्ने भन्ने अन्योल कायमै छ । तैपनि ५० वर्ष लामो असदको निरङ्कुश पारिवारिक सत्ता ढलेकोमा धेरैले खुसी मनाएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि सिरियामा असद पतनको स्वागत गर्दै त्यहाँ अब कस्तो शासन सुरु भनी तीव्र प्रतीक्षा गरेको छ ।
विभिन्न देशको अधीनमा परेको सिरिया सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्र भएको हो । स्वतन्त्र भए पनि सन् १९७१ सम्म अस्थिरतामा बित्यो । सन् १९६३ मा अरब सोसलिस्ट बाथ पार्टीले सत्ताको नेतृत्व लियो । त्यसपछि सन् १९७० मा जर्नेल हाफेज अल असदले सोही पार्टीको नेतृत्वमा एक दलीय शासन सुरु गरे । उनी आजीवन राष्ट्रपति बने । उनको निधन भएपछि सन् २००० मा उनका छोरा बसर अल असद राष्ट्रपति बने । बेलायतमा पढेर नेत्र चिकित्सक बनेका असदले बाबुको निधनपछि सत्ता समाल्दा मुलुकमा उदार लोकतान्त्रिक व्यवस्था कायम हुने अपेक्षा गरिएको थियो तर उनले पनि पिताकै शैलीको निरङ्कुश शासनलाई निरन्तरता दिए । एक दलीय चुनाव गराएको नाटक गर्दै २४ वर्ष सत्ता लम्ब्याउने काम गरे । देशमा बढ्दो असमानता र गरिबी हटाउने दिशामा कुनै काम भएन । सत्ता टिकाउन राज्य शक्तिको चरम दुरुपयोग गरियो ।
सन् २०११ मा ट्युनिसियामा स्नातक गरेका बेरोजगार युवकले आत्मदाह गरेसँगै सुरु भएको अरब क्रान्तिले भूमध्य सागर क्षेत्रका केही देशका निरङ्कुश सत्ता ढले । आन्दोलन थेग्न नसकेपछि ट्युनिसियाका राष्ट्रपति बिन अलीले सत्ता त्यागे ।
त्यसलगत्तै इजिप्ट आन्दोलित भयो । आन्दोलन दबाउन सकिएन । अमेरिकाको बलियो समर्थन रहे पनि अन्ततः राष्ट्रपति होस्नी मुबारकले पद त्यागे । इजिप्टसँगै यमनमा पनि आन्दोलन चर्कियो । राष्ट्रपति अब्दुल सलेह आन्दोलनको व्रmममा क्षेप्यास्त्र प्रहारमा परी गम्भीर घाइते भई सत्ता त्यागेर अमेरिका पलायन भए ।
लिबियामा चार दशकदेखि एकलौटी शासन गर्दै आएका कर्णेल गद्दाफीको तत्काल सत्ता ढाल्न त्यहाँका आन्दोलनकारी विफल भए । उनीहरूले विदेशी शक्तिलाई गुहारे । करिब छ महिनासम्म आन्दोलन लम्बियो । विदेशी सेनाको सहयोगबाट गद्दाफीको सत्ता ढालियो र उनलाई आन्दोलनकारीले बीभत्स ढङ्गले हत्या गरे । गद्दाफी हटाउने आन्दोलनका व्रmममा ३० हजार मानिस मारिए भने अर्बौंको भौतिक क्षति भयो । उनी मारिएसँगै लिविया झन् ठुलो सङ्कटमा फसेको छ ।
अरब आन्दोलन नरोकिएपछि त्यस क्षेत्रका अन्य केही मुलुकले राजनीतिक सुधार गरी सत्ता जोगाए तर सिरियामा भने आन्दोलन झन् चर्कियो । राष्ट्रपति असदले दमन गरेर सत्ता टिकाउने प्रयास गरे । रुसले असदको सत्ता टिकाउन सैन्य र आर्थिक सहयोग दिई रक्षा कबच बन्यो भने विपक्षी आन्दोलनकारी विद्रोहीलाई अमेरिका, युरोपेली सङ्घ र नेटोले हतियार र आर्थिक सहयोग दिएकाले मुलुक हार न जितको अवस्थामा एक दशकभन्दा बढी समय गृहयुद्धमा होमियो । अन्त्यमा रुसले हात झिकेपछिमात्र सिरियामा असदको सत्ता ढल्यो । आन्दोलन र गृहयुद्धमा गरी छ लाख मानिस मारिए भने एक करोड मानिस शरणार्थी बने ।
ट्युनिसियामा आन्दोलन सफल भएलगत्तै इजिप्ट आन्दोलित भयो । रुसको सहयोगमा विद्रोहलाई दमन गर्दै जाँदा सिरिया गृहयुद्धमा होमियो । यो युद्धमा ४० हजारभन्दा बढी मानिसको ज्यान गयो भने एक करोड ४० लाख मानिस विभिन्न मुलुकमा शरणार्थी बने । राष्ट्रपति असदले निरङ्कुश शासन चलाएकाले मुलुक गृहयुद्धमा फसेर तहसनहस अवस्थामा पुगेको हो । असदले सत्ता टिकाउन आफ्ना विरोधी हजारौँ मानिसलाई पक्राउ गरी चरम यातना दिए । मानव वधशाला नाम दिइएको त्यहाँको कुख्यात ह्वाइट हेल्मेट्स कारागारमा कैयौँलाई फाँसी दिएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ ।
सन् २०११ देखि २०२३ सम्म असदको सत्ता टिकाउन रुसले आर्थिक र सैन्य सहयोग गरेको थियो तर युव्रmेनसँग युद्ध सुरु भएपछि रुसले सिरियामा ठुलो सहयोग उपलब्ध गराउन सकेन । सिरियाको सुरक्षा फौजले प्रतिवाद नगरी विद्रोहीसामु आत्मसर्मपण गरेकोले विद्रोहीले सहजै बल प्रयोग नगरीकनै राजधानी दमास्कममाथि कब्जा जमाउन सफल भयो । राजधानी दमास्कस रहेको १,८५,१८० वर्ग किमी क्षेत्रफलमा फैलिएको, दुई करोड २५ लाख जनसङ्ख्या रहेको, पुरुषको ६८ वर्ष र महिलाको ७५ वर्ष औसत आयु भएको यो विकासशील मुुलुक राजनीतिक स्थायित्व नहुँदा चरम गरिबी र बेरोजगारी समस्यामा फसेको छ । विद्रोहीको हातमा गएको सिरियामा लोकतान्त्रिक मूल्य र मान्यता अनुसार आवधिक निर्वाचन गराई नयाँ सरकार बनाउन ठुलो चुनौती देखिएको छ ।
अरब क्रान्ति भएको १३ वर्ष भइसक्यो तर यो क्रान्तिले केही देशका निरङ्कुश सत्ता ढाले पनि त्यहाँ बलियो लोकतान्त्रिक सरकार बनाउन नसक्दा र लोकतान्त्रिक विधि अनुसार सरकार नचल्दा शान्ति र स्थायित्व कायम हुन सकेको छैन ।
बेन अलीको निरङ्कुश सत्ता ढलेपछि ट्युनिसियामा कमजोर लोकतान्त्रिक सरकार बनेको छ । आन्दोलनको लक्ष्य अनुसार काम गर्न सरकारले नसक्दा जनता सन्तुष्ट छैनन् । शान्ति सुरक्षा कायम गरी पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नसक्दा जनतामा निराशा कायमै छ ।
इजिप्टमा तीन दशक लामो होस्नी मुबारकको सत्ता ढलेपछि सेनाले सत्ता हातमा लिई सैन्य प्रकृतिको राजनीतिक दल खोलेर चुनावमार्फत सत्ता चलाउने काम हुँदा जनतामा नयाँ उत्साह देखिएको छैन । त्यहाँ क्रान्तिपछि प्रतिक्रान्ति भयो । लोकतन्त्रको मूल्य र मान्यता अनुसार सरकार चलेको पाइएको छैन । जसले गर्दा जनतामा असन्तुष्टि र बेचैनी यथावत् छ । मुबारकपछि त्यहाँ सेनाको हालीमुहाली छ ।
अफ्रिकाको दोस्रो धनी मुलुक बनाएका लिबियाली शासक गद्दाफी मारिएपछि मुलुक गृहयुद्धमा फसेको छ । त्यहाँ राजनीतिक स्थिरता भएन । गद्दाफी समर्थक विद्रोहीले देशव्यापी रूपमा आफ्नो पकड बलियो बनाएका छन् । त्यहाँ नाम मात्रको सरकार छ । यमनका शासक सलेह भागेर अमेरिका गएसँगै तीन दशक लामो निरङ्कुश शासन अन्त्य भयो तर जनताको नयाँ सरकार बन्न सकेन । हुथी विद्रोहीले राजधानी सानासहित मुलुकको अधिकांश भूभाग कब्जा गरेको छ । राष्ट्र सङ्घको सहयोगमा बनेको नाम मात्रको सरकार एडेनमा शान्ति सेनाको घेराभित्र सीमित छ ।
अरब क्रान्तिले केही देशका निरङ्कुश सत्ता ढाल्न सफल भए पनि राजनीतिक स्थायित्व र शान्ति कायम गर्न सफल भएन । साथै जनताले कुनै पनि क्षेत्रमा राहतको अनुभूति गर्न पाएनन् । जनतामा देखिएको परिवर्तनप्रतिको उत्साह र उमङ्ग लामो समय टिकेन । मूलतः अरब क्षेत्रमा राजनीतिक नेतृत्वको अभाव देखिएको छ । त्यहाँका राजनीतिक दलहरू
निकै कमजोर देखिए । जनताको विश्वास जितेर काम गर्न सकेनन् । शान्ति र राहत नपाएका जनताले फेरि नयाँ नेतृत्वको अपेक्षा गरेका छन् ।
अरब क्रान्तिकै जगमा ढिलै भए पनि असदको निरङ्कुश शासनबाट मुक्त भएको सिरियामा नयाँ राजनीतिक निकासका लागि त्यहाँका सबै राजनीतिक दल तथा विद्रोही समूहले साझा सहमति गरी सबैलाई मान्य हुने कार्यसूची बनाउनु पर्छ । गृहयुद्धले थला परेको यो मुलुकलाई छिटो निकास दिन अब ढिलो गर्नु हुँदैन । अहिले त्यहाँ देखिएको राजनीतिक रिक्ततालाई तत्काल पूरा गर्न सकिएन भने मुलुक झन् अप्ठ्यारोमा पर्ने खतरा छ । विद्रोही समूहलाई सहयोग गर्दै आएका अमेरिका, युरोपेली सङ्घ र नेटोले स्थिर राजनीतिक निकासका लागि नयाँ मार्गचित्र बनाउन सघाउनु अहिलेको प्रमुख आवश्यकता हो । गृहयुद्ध र निरङ्कुश शासनले थला परेको यो मुलुककालाई नयाँ लोकतान्त्रिक मुलुक बनाउन सबै पक्ष गम्भीर बन्नु पर्छ ।