• २५ पुस २०८१, बिहिबार

वन्यजन्तु अपराध नियन्त्रण गर्न एकाइ गठन

blog

वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी आयोजित कार्यक्रम । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, पुस २४ गते । वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण गर्न बैतडीमा पहिलो पटक जिल्लास्तरीय एकाइ गठन गरिएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालय बैतडीको सभाहलमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय प्रमुखको संयोजकत्वमा एकाइ गठन गरिएको हो । 

एकाइको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, नेपाली सेनाका गुल्मपति, प्रहरी कार्यालयका जिल्ला प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला हुलाक, कारागार कार्यालयलगायत ११ सदस्यीय एकाइ गठन गरिएको छ । 

एकाइ गठन गर्न सुदूरपश्चिम प्रदेशका क्षेत्रीय वन निर्देशक हेमराज बिष्ट स्वयम् बैतडी पुग्नु भएको डिभिजन वन कार्यालय बैतडीका कार्यालयलय प्रमुख भरतप्रसाद भट्टले जानकारी दिनुभयो । एकाइको पहिलो बैठकबाट वन्यजन्तु अपराध नियन्त्रण गर्न तीन वटा निर्णय गरिएको उहाँले बताउनुभयो । 

बैतडीमा खासगरी मानव–वन्यजन्तु (चितुवा र बँदेल) सँगको बढी द्वन्द्व हुने गरेको छ । २०६८ साल यता बैतडीका चितुवाको आक्रमणमा परी २८ जना मानिसको ज्यान गएको छ । मानवले थापेको पासोमा परी ३० भन्दा बढी चितुवाका मृत्यु भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ । 

बैतडीमा पासो थाप्ने, अवैध हतियार घरेलु बन्दुकले चोरी शिकारी गर्नेजस्ता अपराध हुने गरेको डिभिजन वन प्रमुख भट्टले जानकारी दिनुभयो । वनसम्बन्धी अपराध नियन्त्रण गर्न सरोकारवालासँग समन्वय र सहकार्य गरी अघि बढ्ने उहाँले बताउनुभयो । 

अवैध तरिकाले बन्दुक बोकेर वनमा हिँडिरहेका एक व्यक्तिलाई केही दिनअघि कानुनअनुसार मुद्दा चलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँले, बैतडी जिल्ला मानव–वन्यजन्तु द्वन्द्वका हिसाबले जोखिमयुक्त जिल्ला भएकाले पारिस्थितिक प्रणालीमा खलल पुग्ने किसिमका काम रोक्न सरोकारवाला सबै जुट्नु पर्ने बताउनुभयो । 

अतिक्रमण हटाउन बजेट अभाव

यसैबिच डिभिजन वन कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा वनको जग्गा अतिक्रमण गरी बनाएका घर टहरा हटाउन बजेट नभएको बताएको छ । कार्यालय प्रमुख भरतप्रसाद भट्टले अतिक्रमण हटाउन जिल्ला वन समिति भए पनि बजेट नहुँदा काम गर्न कठिन भइरहेको गुनासो गर्नुभयो । 

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बैतडीमा पाँच हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणका चपेटामा परेको छ । गत वर्ष मेलौली नगरपालिकामा २७ वटा घर भत्काए पनि अन्य स्थानीय तहको अतिक्रमण हटाउन नसकिएको वन कार्यालय कर्मचारीको भनाइ छ । बजेट अभाव र स्थानीय तहको सरकारको असहयोगका कारण काम गर्न नसकिएको कर्मचारीको गुनासो छ । 

वन अतिक्रमणका विषय क्षेत्रीय वन निर्देशक हेमराज बिष्टले देशभरि एक लाख हेक्टर वन क्षेत्र अतिमक्रणमा परेको बताउनुभयो । त्योमध्ये प्रदेश राजधानी रहेको कैलाली जिल्लामा मात्र २५ हजार हेक्टर वन अतिक्रमणको चपेटामा रहेको उहाँले बताउनुभयो । बैतडीमा पनि वन क्षेत्र अतिक्रमणमा परेकाले सरोकारवाला सबै निकाय मिलेर हटाउन जरुरी रहेको बिष्टले बताउनुभयो ।