• २५ पुस २०८१, बिहिबार

सुस्तायो प्रदेश सभाको गतिविधि

blog

धनगढी समाचारदाता

धनगढी, पुस २४ गते  । सुदूरपश्चिम प्रदेश सभाको गतिविधि सुस्ताएको छ । पर्याप्त कार्य नहुँदा प्रदेश सभाको गतिविधि सुस्ताएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि दोस्रो पटक प्रस्तुत गरेको बजेट पारित गर्न असोज ६ गते प्रदेश सभा बैठक बसेको थियो । त्यसपछि स्थगित भएको बैठक हालसम्म बस्न सकेको छैन ।  

प्रदेश सभाले सरकारका लागि नीति निर्धारण तथा कानुन निर्माण गर्ने जस्ता महŒवपूर्ण कार्य गर्छ । यसै गरी जनताका आधारभूत र समसामयिक विषयमा छलफल गरी सरकारलाई खबरदारी गर्ने कार्य प्रदेश सभाले गर्दै आएको छ । पाँचौँ अधिवेशन अन्त्य नभए पनि सभाको बैठक बस्न सकिरहेको छैन । प्रदेश सभा सचिवालयका प्रवक्ता उपसचिव तेजप्रकाश जोशीले प्रदेश सभाको बैठक बस्ने हालसम्म निश्चित नभएको बताउनुभयो । “अघिल्लो अधिवेशन अन्त्य भइसकेको छैन । त्यसैले बैठक जतिसुकै बेला पनि बस्न सक्छ,” उहाँले भन्नुभयो, “तर बैठकबारे मिति र समय निश्चित भइसकेको छैन ।”

प्रदेश सभामा छलफलका लागि सचिवालयमा नयाँ विधेयक हालसम्म दर्ता भएको छैन तर छलफलका लागि यसअघि नै पेस गरिएका सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा रहेको उहाँले बताउनुभयो ।  सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको थियो । समितिले छलफल गरेर प्रतिवेदन तयार गर्ने व्रmममा रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।