गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २४ गते । लघुवित्त वित्तीय संस्थाले पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई मङ्गलबार एकीकृत निर्देशन जारी गर्दै नेपाल लेख मापदण्ड (एनएस) अनुसार वित्तीय प्रतिवेदन तयार गर्दै आएका लघुवित्तका लागि पनि नयाँ व्यवस्था अविार्य गरिएको हो ।
नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमानलाई आधारका रूपमा लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
यसअघि वाणिज्य बैङ्क, विकास बैङ्क तथा बिमा कम्पनीमा अनिवार्य भएको एनएफआरएस लघुवित्तमा पनि लागु भएको हो । राष्ट्र बैङ्कका अनुसार लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ ।
राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ठुला सेयरधनीलाई पनि कडाइ गरेको छ । लघुवित्त संस्थाको चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्य सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखको पदमाबाहेक अन्य कुनै पनि तहको कर्मचारीमा नियुक्ति तथा पुनर्नियुक्ति गर्न नपाइने भएको छ ।
चुक्ता पुँजीको पाँच प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघर परिवारका सदस्य सो संस्थाको कार्यकारी प्रमुखको पदमा समेत नियुक्ति-पुनर्नियुक्ति हुन योग्य नहुने राष्ट्र बैङ्कको निर्देशन छ ।यस्तै लघुवित्त संस्थाले सङ्गठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाइने भएको छ ।