राधाकृष्ण डुम्रे
वालिङ, पुस २४ गते । स्याङ्जा जिल्लामा सुन्तला बेचेर धेरै कृषकले राम्रो आम्दानी गर्दै आएका छन् तर सुन्तला देखाएरै लाखौँ कमाउने कृषक भने चिन्तामा छन् ।
सुन्तलाको मौसममा भरिभराउ हुने सुन्तलाबारी होमस्टे अहिले खाली छ । गाउँभरिको सुन्तला पहेँलपुर भएको हेरेर मक्ख पर्ने पाहुना आउन छोडेका छन् । जताततै सुन्तला भएको वालिङ नगरपालिका–४ को एलादी–खाल्टे अहिले उजाड बनेको छ ।
सुन्तलाका बोट सुकेका छन्, कतै कतै फलेको भए पनि रौनक हराएको छ । सुन्तलालाई नै आधार मानेर एलादी–खाल्टेका ३० घरमा होमस्टे सञ्चालन हुँदै आएका छन् ।
सुन्तलाबारी होमस्टेले सुन्तलाका कारण केही वर्षअघिसम्म जिल्लाबाहिर समेत पहिचान बनाएको थियो । होमस्टेका अध्यक्ष दिलविव्रmम गुरुङले सुन्तलाका बोट सुक्दै गएको देख्दा चिन्ता लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तला बेचेर मात्रै होइन सुन्तला देखाएर पनि होमस्टेबाट राम्रो आम्दानी गर्दथ्यौँ, अहिले बर्बाद भयो ।”
होमस्टेमा आउनका लागि अहिले पनि विभिन्न ठाउँबाट पाहुनाले फोन गर्ने गरेको भन्दै अध्यक्ष गुरुङले पाहुनालाई आफूहरूले नै नआउन भनेको जानकारी दिनुभयो ।
सुक्न थाले बोट
एलादी–खाल्टे गाउँका सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । उपचार नै नभएको ग्रिनिङ रोग फैलिन थालेपछि सुन्तलाका बगैँचा नै सकिन लागेको हो । होमस्टेसँगै व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका अधिकांश कृषकका सुन्तलाका बोट सुकिसकेका छन् भने केही सुक्ने व्रmममा छन् । आम्दानीको राम्रो स्रोतका रूपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि उनीहरूको व्यवसाय मात्रै होइन होमस्टे नै सङ्कटमा पर्न थालेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला सुपरजोनका प्राविधिक सहायक इन्द्रप्रसाद सुवेदीका अनुसार सुन्तलाबारी होमस्टे र ‘ग्रिनिङ रोग’ को लक्षण देखिएका जिल्लाका चार ठाउँमा गरी झन्डै ३० हजार सुन्तलाका बोट सुक्न लागेका छन् । जसका कारण करोडौँ घाटा हुने उहाँको भनाइ छ ।
स्याङ्जाका एलादी–खाल्टेसहित अर्जुनचौपारी गाउँपालिका–१, पुतलीबजार नगरपालिका–७ र ११ मा ‘ग्रिनिङ रोग’ को लक्षण देखिएको छ ।
सुन्तलाका बिरुवा बाहिरबाट ल्याउँदा रोग पनि सँगै आएको भन्दै सुवेदीले प्रमाणीकरण नभएका नर्सरी तथा प्राविधिकको सल्लाहबिना सुन्तलाका बिरुवा ल्याउँदा समस्या आएको बताउनुभयो ।
सुन्तलाका बोटमा लागेको ‘ग्रिनिङ रोग’ का कारण समस्या आएपछि परियोजनाले नयाँ बिरुवा रोप्ने काम पनि गर्दै आएको छ ।
गएको दुई वर्षमा सो क्षेत्रमा पाँच हजार सुन्तलाका नयाँ बिरुवा रोपिएका छन् । रोग लागेर समस्या ल्याएका बिरुवा हटाएर नयाँ रोपिँदै आएको परियोजनाका प्रमुख अजय अधिकारीले बताउनुभयो ।
एक अर्ब बाह्र करोडभन्दा बढीको सुन्तला स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।