• २४ पुस २०८१, बुधबार

चिया क्षेत्रका समस्या समाधान गर्न पहल गर्छु :विश्वप्रकाश शर्मा

blog

चियासँग सम्बन्धित सरोकारवालाको ज्ञापनपत्र बुझ्नुहुँदै महामन्त्री विश्वप्रकाश शर्मा ।

विष्णुप्रसाद पोखरेल

दमक, पुस २३ गते। नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। 

चिया क्षेत्रलाई समेटेर यसका विकास प्रवर्धनका लागि आवश्यक ऐन, कानुन र कार्यविधि नआएका कारण सरकारी तवरबाट छुट्याइएको बजेट समेत खर्च गर्न समस्या भएको भन्दै चिया उद्यमी तथा सरोकारवालाले शर्माको ध्यानकर्षण गराएपछि उहाँले यस्तो जनाउनु भएको हो।

गृह जिल्ला झापा आउनु भएका शर्मालाई चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले शर्माको ध्यानकर्षण गराएको हो। शर्माले चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि आफूले आफ्नो ठाउँबाट गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

चिया क्षेत्रमा देखिने समस्याको दिगो समाधानका लागि सङ्घीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक नीति नियम र कानुन बनाउनुपर्ने आवश्यकता देखिएकाले आफ्नो पार्टी नेपाली कांग्रेस लाग्ने पनि बताउनुभयो। ‘‘श्रमिकदेखि लिएर चिया क्षेत्रमा संलग्न सरोकारवाला सबैको समस्या समाधान गर्ने गरी लाग्नु पर्ने देखिएको छ’’, उहाँले भन्नुभयो।

चिया निर्यातमा देखिएका समस्या समाधान गर्न पनि आफूले पहल गर्ने सो अवसरमा शर्माले बताउनुभयो। ९८ प्रतिशत चिया उत्पादन क्षेत्र रहेको कोशी प्रदेश सरकारले समेत चिया क्षेत्रलाई समेटेर अहिलेसम्म कुनै निकाय नबनाएको चिया सरोरकारवालाले गुनासो गरेका थिए।