• २४ पुस २०८१, बुधबार

सहज बन्दै दुधकुण्ड पोखरी जाने पदमार्ग

blog

नुम्बुर हिमालको काखमा रहेको सुन्दर दुधकुण्ड पोखरी जाने नवनिर्मित पदमार्ग । तस्बिरः सालुदुधकुण्ड नगरपालिका

सन्तोष राउत
सोलुखुम्बु, पुस २३ गते ।
नुम्बुर हिमालको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल दुधकुण्ड पोखरी जाने पदमार्ग निर्माण भएपछि आवतजावतमा सहज हुन थालेको छ । सोलुदुधकण्ड नगरपालिका–१ मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल दुधकुण्ड पोखरी क्षेत्रमा आवतजावत गर्ने पदमार्गको निर्माण कार्य सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा अघि बढ्दा यात्रा सहज बन्न थालेको छ ।

दुधकुण्ड पोखरीको व्यवस्थापनमा पछिल्लो समय नगरपालिकाले चासोका साथ पदमार्ग निर्माण गर्न थालेको छ ।  दुधकुण्ड पोखरी क्षेत्रमा सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा पर्यटकीय संरचनाहरू धमाधम निर्माण भइरहेको नग प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । पदमार्ग निर्माणले स्वदेशी तथा विदेश पर्यटक तथा तीर्थयात्रीहरूलाई हिमालको नजिक पुगेर धार्मिक, सांस्कृतिक महत्वको साथै प्राकृतिक सौन्दर्य भएकाले यसको अनुभव गर्न र शान्त वातावरणमा रमाउन सहज हुने प्रमुख शेर्पाको भनाइ छ ।


समुद्री सतहबाट चार हजार ५६० मिटरको उचाइमा रहेको जिल्ला सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने नुम्बुर हिमालको काखैमा रहेको दुधकुण्ड पोखरीमा वर्षेनि धार्मिक पर्यटकको चाप बढ्दै गएको छ । धार्मिक महत्त्व बोकेको तथा प्राकृतिक सुन्दरताले भरिएको दुधकुण्ड पोखरी जानका लागि आधा बाटोसम्म सडकको पहुँच पुगेको छ भने बाँकी  पदमार्गका रुपमा छ ।

दुधकुण्ड पोखरीमा जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गरेको र मेलामा हजारौँ दर्शनार्थी पुग्ने गरेका छन् । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो । मेलामा हिन्दु मात्रै नभ बौद्धमार्गी, किराँतीहरु समेत दुधकुण्ड पुग्ने गर्छन् ।

शौचालयलगायत बस्ने स्थानको समेत व्यवस्थापन गरेको सोलुदुधकुण्ड नगपालिकाले पदमार्ग तथा अन्य पूर्वाधारको निर्माणमा  तीव्रता दिएको छ । यसअघि नगरपालिकाले पर्यटनको प्रचारप्रसारका लागि दुधकुण्ड पोखरीको वृत्तचित्र समेत निर्माण गरी प्रचारप्रसारमा लागिसकेको छ ।


यस स्थानमा नुहाएमा पुण्य प्राप्त हुने जनविश्वासका कारण विभिन्न जिल्लाबाट धार्मिक पर्यटक आउने गरेका छन् । पोखरीको अर्को छेउमा शिवलिङ्ग छ । बुबाआमा भएकाले पूरै पोखरी नघुम्नु भन्ने भनाइ छ । यस तालको अतिरिक्त आसपासमा गङ्गाजमुना, भुतपोखरी गरी १० वटा ससाना कुण्ड  छन् । पोखरीको सुरुको छेउमा सानो मन्दिर निर्माण गरिएको छ । यहाँ पूजाआजा गर्न तथा बत्ती बाल्ने प्रबन्ध मिलाइएको छ ।

पोखरीको नजिकै सानो बुद्धको मूर्तिसमेत छ । जसलाई बौद्ध धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धाको रुपमा लिने गर्छन् । यो स्थानसम्म पुग्न पोखरीको वल्लो छेउदेखि लगभग दुई घण्टा हिँड्नुपर्छ । यहाँबाट ओरालो झरेपछि विशाल ढुङ्गाको फेदमा आयु माग्ने स्थान छ, जहाँ पूजा गर्दा आयु बढ्ने तथा गाईवस्तु राम्रो हुने जनविश्वास छ ।

अघिपछि पनि आवतजावत हुने त्यस पोखरीमा मुख्यगरी श्रावण शुक्ल एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने ठुलो मेलामा धाँमीझाँक्री र विभिन्न स्थानबाट दर्शनार्थीको आकर्षण बढ्ने गरेको छ ।