• २२ पुस २०८१, सोमबार

पर्यटकीय गन्तव्य बन्दै बाइसधारा

blog

प्युठान नगरपालिका ९ मा अवस्थित बाइसधारा बुलबुले मूल । तस्बिरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, पुस २० गते । प्युठान नगरपालिका –९ स्थित पाखाचितिमा रहेको बाइसधारा बुलबुले मूल जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा पहिचान बोकेको छ । प्रचार प्रसार र  भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको बाइसधारा बुलबुलेमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

बाइसधारा मूल प्राकृतिक रूपले नै सुन्दर छ । झिमरुक उपत्यका भित्रको प्राकृतिक रूपमा बनेको पर्यटकीय क्षेत्र हो । यहाँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । पछिल्लो केही वर्ष यता बाइसधारा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीयको भनाइ छ । 

प्राकृतिक सौन्दर्यताको बिचमा बाह्रै महिना कलकल पानी बग्नु यहाँको प्रमुख विशेषता हो । स्थानीयको सक्रियतामा मूलनजिकै २२ वटा ढुङ्गे धारा निर्माण गरिएको छ । बाँसका धाराहरू हटाएर स्थानीयको सहयोगमा ढुङ्गेधारा निर्माण गरिएको हो । एक लाइनमा लामबद्ध निर्माण गरिएका २२ धाराबाट एकनासले पानी बग्ने गर्छ । 

माघे सङ्क्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्छ । माघे सङ्क्रान्तिको दिन स्नान गरी शुद्ध हुने चलनअनुसार यस स्थानमा पनि स्नान गर्न आउने पर्यटकको घुइँचो लाग्ने स्थानीय दिनबहादुर जिसीले जानकारी दिनुभयो । उक्त स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा थप विकास गर्न समेत सकिने सम्भावना रहेको उहाँको भनाइ छ । “धेरै ठाउँमा मानिसले बनावटी पर्यटकीय क्षेत्र निर्माण गरिएको छ” उहाँले भन्नुभयो, “यो प्राकृतिक रूपले नै बनेको सुन्दर ठाउँ हो ।”