रचनाका सम्पादक प्रतीक घिमिरेले एक महिनाअघि नै फोन गरेर भनेका थिए, “दाइ ! समय त एक महिना नै बाँकी छ, मण्डनदेउपुरमा रमेश विकलका छोरा महेन्द्र चालिसेको एउटा पुस्तकको विमोचन कार्यक्रम पनि छ ।”
रमेश विकलले ससुराली गाउँ मण्डन देउपुरमै केही समय बसेर ‘अविरल बग्दछ इन्द्रवती’ लेखेका हुन् भन्ने जानकारी पनि प्रतीकबाटै पाएँ । मैले पनि त्यो कार्यक्रममा सहभागिता जनाउन उनलाई लगभग पक्कापक्की जस्तै गरिदिएँ ।
अविरल बग्दछ इन्द्रावती जस्तो कालजयी उपन्यास मैले पढ्न पाएको छैन । बद्री अधिकारीको निर्देशनमा नेपाल टेलिभिजनमा २०५६ सालतिर टेलिफिल्म ‘अविरल बग्दछ इन्द्रावती’ प्रसारण गरिएको थियो । त्यो टेलिफिल्म मौका मिल्दा हेर्ने गरेको थिएँ । अविरल बग्दछ इन्द्रवतीलाई त्यसबेला धेरै दर्शकले मन पराएको कुरामा दुईमत रहेन । अहिलेको भाषामा भन्नुपर्दा त्यो ‘भाइरल’ नै थियो । त्यसैको सेरोफेरोमा रमेश विकलले एउटा अन्तर्वार्तामा भनेका थिए, “अविरल बग्दछ इन्द्रावती’ लेख्ने क्रममा म पूर्व मण्डनमै बसेको थिएँ, जहाँ मेरो ससुराली हो । यस आख्यानको पूर्वपीठिका मैले त्यहीँ तयार गरेको हो ।”
मैले त त्यस ठाउँमा पुग्ने कल्पना कसरी गर्नु र ? न मेरा नातागोता कोही कसैको बसोबास त्यो क्षेत्रमा छ ? न त मेरा आत्मीय साथीभाइ नै छन, त्यता । एक्लै लखरलखर पनि कता पो हिँडनु र ? आखिर २०८१ पुस १३ गते शनिबारको दिनले पनि कहाँ पो छाड्नेवाला थियो र आइहाल्यो नि ! प्रतीक भाइले पठाएको निम्तो अनुसार म कपनबाट चाबेलको मेडिकेयर अस्पतालको पारिपट्टि समयमै पुगेँ । साथीभाइ र अग्रज साहित्यकारको जमघट सुरु भयो र एकैछिनमा निर्धारित तीन वटा बसह पनि आइपुगे ।
साँच्चै भन्नुपर्दा मैले आजसम्म यस्तो किसिमको साहित्यिक कार्यक्रममा सामेल हुने मौका पाएको थिइनँ नै । त्यसैले म रोमाञ्चित भइरहेको थिएँ । धेरै नै साथीभाइ परिचित केही नयाँ पुस्ताका भाइबहिनीसँग पनि परिचित हुने मौका मिल्यो । बस चढ्ने क्रममा मेरा मित्र पाल्पाका विनोद नेपाल र म सँगसँगै भयौँ । यात्रामा रमेश विकलका अन्तरङ्ग मित्र, साहित्यिक पत्रकार एवं लेखक रोचक घिमिरेसँगै थियौँ । उमेरले आठ दशक कटिसकेका घिमिरेको साहित्यिक सक्रियतालाई मान्नै पर्छ ।
चाबेलबाट जोरपाटी, थली, ब्रह्मखेल, साँखुसम्म त मैले छिचोलेको बाटो नै हो तर त्यतातिर नगएको पनि जुगौँ भइसकेको थियो । ठाउँ नै अर्कै जस्तो पो लाग्यो ! त्यसभन्दा अगाडिको भूगोल मेरा लागि नितान्त अपरिचित थियो । पालुबारीमा किसान आलुमा पानी लगाउन व्यस्त थिए । कतै तरकारीका टनेलमा काम गरिरहेका कर्मशील पाखुराहरू थिए । बाटाका छेउछाउमा घर बन्ने होडबाजी पनि चलिरहेको थियो । कतै कतै प्लटिङका नाममा डोजर कुदिरहेका थिए । कतै जङ्गलमा चराचुङ्गीको आवाज पनि सुनिन्थ्यो । रुखका पात पानी नपरेका कारण धुलाले फुस्रा देखिन्थे ।
शनिबारको दिन परेकाले कतै कतै वनभोज टोली पनि सुरसारमा व्यस्त देखिन्थे । कात्तिके भन्ज्याङ कटेपछि नगरकोटको माथ्लो भागमा जङ्गलका छेउमा केही होटेलका संरचना धमाधम बनिरहेका थिए । त्यहाँ भएका अरू होटेलमा पनि स्वदेशी, विदेशी र भारतीय पर्यटकको चहलपहल देखियो तर त्यहाँबाट देखिएको हिमालमा हिँउ पटक्कै देखिएन । काला देखिए हिमालहरू । बसका यात्रीले विज्ञता देखाए, ‘ग्लोबल वार्मिङको असर’ ।
हामीले इतिहासमा पढेको ऐतिहासिक स्थल नाल्दुम पुगेर ओरालो झरेर गन्तव्यतिर लाग्यौँ । छेउछाउमा तरकारी खेती राम्ररी नै फस्टाएको देखिन्छ । पशुपालन र कुखुरापालन व्यवसाय पनि गरेका रहेछन् स्थानीय वासिन्दाले तर जाडोले गाईवस्तुको हुर्मत लिएको देखियो । सायद नगरकोटका होटेलले नै स्थानीय उत्पादनलाई खपत गर्ने गरेको छ कि ? मकैबारी भन्ने ठाउँमा पुगेपछि हामीपछि आउँदै गरेका साथीलाई एकछिन पर्खिनुपर्ने भयो । मलाई लागेको थियो, नाम मात्रै मकैबारी होला भन्ने तर नाम अनुसारकै ठाउँ रहेछ । घरका छतमा र बाहिर पनि जताततै मकैका थाङ्ग्राले ढाकेको देख्दा खुसी लाग्यो । रोहिणी, गुरुङगाउँ, खस्रे तल्लोसिङे जस्ता गाउँका मानिस काममा व्यस्त र मग्न थिए । हामी कुन्ताबेँसी पुग्यौँ, त्यहाँ धुलिखेलतिरबाट आएको अर्को चलनचल्तीको सडकसमेत भेटियो । यो सडक मेलम्ची खानेपानी आयोजनाको सुरुवातसँगै तयार गरिएको रहेछ । कुन्ताबेँसीसँग सडकको साइनो जोडिए छ । यसले त्यस क्षेत्रको विकास, भाग्य र भविष्यलाई उठाउने काम गर्यो । कुन्ताबेँसी त्यस क्षेत्रको चल्तीको बजार केही सरकारी गैरसरकारी कार्यालय, बैङ्क वित्तीय संस्थाका कार्यालय, धेरै सहकारी संस्थाका बोर्ड देखिए । कुन्ताबेँसीबाट केही पूर्वउत्तर हिँडेपछि पुगिन्छ हिँगुवापाटी, त्यहाँबाट उत्तर लागे मेलम्ची पुगिने रहेछ । हाम्रो गन्तव्य पूर्व भएकाले हामी रायाबारी ढाँडखोलाहुँदै जोगीटारतर्फ लाग्यौँ । पहिलो यात्रा भएकाले म भरपुर यात्राको रमाइलो गर्न यताउति आँखा डुलाउँछु, मेरा मित्र विनोद नेपाल यसअघि एकपल्ट मेलम्ची जाने क्रममा त्यहाँसम्म पुगेका रहेछन् । उनका उत्साही आँखा पनि गाडीको झ्यालबाहिर यताउता गरिरहेको देख्छु । हिउँदको बेलामा पनि ठाउँ ठाउँमा रातो माटोको पहिरोले बाटो बिग्रिएको देखिन्छ । बर्खामा कस्तो होला कल्पिँदै हामी केही समयपछि जोगीटार पुग्छौँ । यो बाटो घुम्दै बाह्रबिसेसम्म पुग्ने रहेछ । आजको हाम्रो गन्तव्य यहीँसम्मको हो ।
हामीलाई तामाकोशी किनारमा रहेको ठुलो बरपिपलको चौतारीसम्म पुर्याइयो । केही उत्साही साथीहरू तामाकोशीको जलसिञ्चन गर्न दौडिए । कपन, बानेश्वर साहित्य समाजले एउटा घुम्ती कविगोष्ठी पनि गर्यो, केही साथीले कविता वाचन गरे । स्थानीय वडाका वडा सदस्य राजकुमार माझीले हामीलाई स्वागत गर्ने क्रममा भने, “हामी माझी जातिको आर्थिक अवस्था तपाईंले अविरल बग्दछ इन्द्रावतीमा हेरे पढे जस्तै नै हो ।”
उनले थपे, “फरक यति छ, पहिले माछा मारेर जीविकोपार्जन हुन्थ्यो अरे अहिले खोलामा माछा पाइँदैन । खोलामा बालुवा चालेर रोजगारी गर्ने गरेका छन् । केही थोरै वैदेशिक रोजगारीमा गएका छन् ।” उनले यसो भनिरहँदा इन्द्रावती किनारमा टिप्परको लाइन बाक्लो थियो । मैले अविरल बग्दछ इन्द्रावतीका मूलपात्र सोभिते र लालगेडीलाई सम्झिएँ । साच्चै तिन्का घरहरू पनि यतैकतै होलान् ! बन्दुके काजीको घर चाहिँ कतातिर होला ? मैले यी कुरा सोधेर उत्तर पाउने पात्र पनि भेटिनँ र समय पनि मिलेन । २०७२ को भूकम्पपछि माझीगाउँको पुनर्निर्माण भएको रहेछ । पुराना खरका घरलाई जस्तापाताले केही विस्थापन गरेको देखियो । आज घाम राम्ररी देखिएको छैन । हामीलाई आयोजकले खाना खानका लागि आग्रह गरे, समय पनि ११ बजिसकेको थियो । भोकले पनि सबैलाई गाँजिसकेको थियो । हामी खाना खाने ठाउँमा पुगेर स्वादिष्ट स्थानीय भोजन गरेर तृप्त भयौँ ।
खानापछि एकै छिन मैले जोगीटारको फेरो लगाएँ । धेरै नेपालका घरबस्ती रहेको जोगीटारमा जोगीका घर त औँलामा गन्न सकिने मात्र रहेछन् । नदी किनारमा माझीको बस्ती रहेछ । बस्तीको उत्तरतिर सरकारी वन बिचमा कालोपत्रे सडक, त्यसमुनि उब्जाउ जग्गाजमिन सिँचाइको राम्रो सुविधा । लहलाएको तरकारी र गहुँको खेतीले फाँट नै उज्यालो देखिने । अन्यत्र जस्तो युवाले आफ्नो थातथलो छाडेर अन्यत्र नलागेकाले गाउँको अवस्था ठिकै रहे जस्तो लाग्यो ।
पुसको दिन १२ बजिसकेको र घाम पनि नलागेर अलि निराश जस्तो भएको थियो । खाना खाइसकेपछि सबैलाई निर्माणाधीन हलमा कार्यक्रमका लागि लगियो । जहाँ अर्जुनराधा फाउन्डेसनद्वारा आयोजित रमेश विकलका छोरा महेन्द्र चालिसेको नियात्रा ‘लेकबेँसीका सुगन्ध’ को लोकार्पण र त्यसमाथिको टिप्पणी कार्यक्रम थियो । पाका साहित्यकार रोचक घिमिरे, समालोचक ठाकुरप्रसाद शर्मा, फाउन्डेसनका अध्यक्ष, कथाकार विजय चालिसे, समीक्षक गोपी मैनाली र लेखक महेन्द्र चालिसेद्वारा पुस्तकको विमोचन भयो । छोटकरीमा पुस्तकमाथि टिप्पणी गर्ने काम ठाकुर शर्मा र गोपी मैनालीले गरे । रोचक घिमिरेले रमेश विकललाई सम्झिए अनि धेरै वर्षअघि हिँडेरै आफूहरू त्यहाँ पुगेको संस्मरण गरे । छोटो मिठो कार्यक्रमपछि तातो चिया खुवाएर जोगीटारले हामीलाई न्यानो हात हल्लाएर ‘फेरि पनि आउनु है’ भनेर ।
हामीले रमेश विकलले सशरीर हिँडेका पाइलालाई पच्छ्यायौँ । उनी धरै पटक हिँडेरै त्यस मनोरम स्थानमा पुगेका थियौँ । त्यसबेला भक्तपुर, खरिपाटी, अनेकोट, चाखोला, जैसीथोकको ठाडो उकालो उक्लिएर चण्डेनी मण्डन नेपालको बस्ती ससुराली गाउँ पुगेको कुरा आत्मसंस्मरण ‘मेरो अविरल जीवन गीत’ मा विकलले सविस्तार उल्लेख गरेका छन् । हामी आज पुगेको जोगीटारभन्दा निकैमाथि पर्ने रहेछ, चण्डेनी मण्डन । २०३८ सालतिर श्रीमतीसहित एक महिना त्यहीँ बसेर विकलले कालजयी कृति ‘अविरल बग्दछ इन्द्रावती’ को भावभूमि तयार गरेका थिए । उनका छोरा वरिष्ठ कथाकार विजय चालिसेको ‘जोगी मामा’ नामको चर्चित कथा पनि त्यही भूगोलको सेरोफेरोमा रचना भएको हो ।