• २१ पुस २०८१, आइतबार

समाचार प्रभाव

वृद्ध दम्पतीलाई नगरपालिकाको सहयोग

blog

भोकमरीसँग जुध्दै गरेका पाटन नगरपालिका–४, जेउडेका धने लावडको परिवार । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, पुस १९ गते  । सडक किनारको छाप्रोमुनि चिसो भुइँमा भोकमरीसँग जुधिरहेका वृद्ध दम्पतीलाई पाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । 

पाटन नगरपालिका–४, जेउडेको दलित बस्तीका ६९ वर्षीय धने लावड, उहाँकी अपाङ्ग श्रीमती रोहिणी लावड र कक्षा ८ मा पढ्ने बालिकाका विषयमा ‘भोकमरीसँग जुध्दै वृद्ध दम्पती’ शीर्षकको समाचार गोरखापत्रमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले वृद्ध दम्पतीलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

नगरप्रमुख रावलले भन्नुभयो, “गरिब, विपन्न दलितको पीडा मसिनो ढङ्गले गोरखापत्रमा छापिएको रहेछ । यस्तो समस्या छ भन्ने कुरा मलाई यसअघि कसैले पनि बताएनन् । गोरखापत्र पढेर थाहा पाए । धन्यवाद छ । नगरपालिकाबाट गाँस, बास र कपासका लागि सक्दो सहयोग गर्छौं ।”  

वृद्ध दम्पती बर्सौदेखि टिनको छाप्रोमा बस्दै आइरहेका छन् । छाप्रोमा खानेपानीको धारा, बिजुली र शौचालय त परको कुरा छाक टार्ने अन्नसमेत छैन । बत्ती, पानीको धारा र शौचालय नहुँदा निकै समस्या खेप्नु परेको वृद्ध धने लावडले गोरखापत्रलाई पीडा सुनाउनुभएको थियो । शौचालय नहुँदा अपाङ्ग श्रीमतीलाई शौच गराउन बोकेर जङ्गलतिर लैजाने गरेको उहाँले गोरखापत्रसँग भन्नुभएको थियो । लावड दम्पती आफूलाई केही भए छोरीको भविष्य के होला ? भन्ने  चिन्तामा डुबेका छन् ।  

चिसोका कारण वृद्ध दम्पती बेला बेला बिरामी भइरहन्छ । छिमेकी मानबहादुर चन्दले यो खबर थाहा पाएपछि केही दिनका लागि पुग्ने गरेर चामल सङ्कलन गरेर सहयोग गर्नुभएको छ । वृद्ध दम्पतीको घरमा अन्न नहुँदा सिस्नोमा मकैको पिठो घोलेर खाँदै गरेको देख्दा सहयोग नगरेर बस्न नसकेको चन्दले बताउनुभयो । 

वृद्ध अवस्थाका गरिब, दलित परिवारको पीडा गोरखापत्रमा उजागर भएपछि केही मनकारीले सहयोग गर्ने वचन दिएको पाटन नगरपालिकाका स्थानीयवासी एवं जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम भाटले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मनकारीले गर्ने सहयोग दीर्घकालीन नहुन सक्छ । त्यसैले उहाँको घरमा अन्नपातसँगै बिजुली, पानी र शौचालयको व्यवस्था नगरपालिकाबाट यथाशक्य चाँडो हुन पाए राम्रो हुन्छ । सकेको सहयोग हामी पनि गर्छौं ।”