ट्युनिस, ट्युनिसिया, पुस १८ गते । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरू युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स सहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिनुभयो । ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।
ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि यूरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दु हो । ट्युनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रवासी सङ्ख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ ।
प्रत्येक वर्ष, दशौं हजार मानिसहरू खतरनाक भूमध्यसागरीय मार्ग हुँदै युरोप छिर्ने गर्छन् र यात्राका लागि डुङ्गाको साहरा लिने र खराब मौसमको पनि बेवास्ता गर्ने गर्छन् । यस्ता यात्राले सामुद्रिक क्षेत्रमा उनीहरूले अकालमा ज्यान गुमाउने गरेका पाइन्छ । गत डिसेम्बर १८ मा सब-सहारा अफ्रिकाका कम्तीमा २० आप्रवासीको स्फ्याक्स सहरमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो भने अन्य पाँच जना बेपत्ता भएका थिए ।
यसअघि डिसेम्बर १२ मा कोस्टगार्डले स्फ्याक्सको उत्तरमा रहेको जेबेनियाना नजिकै २७ जना अफ्रिकी आप्रवासीको उद्धार गरेको थियो । यस वर्षको सुरुदेखि नै ट्युनिसियाली मानव अधिकार समूह एफटिडिइएसले ट्युनिसियामा पानीजहाज दुर्घटनामा मारिएका वा बेपत्ता भएका ‘६०० देखि ७००’ आप्रवासीहरूको गणना गरेको छ । सन् २०२३ मा एक हजार ३०० भन्दा बढी आप्रवासीको हताहत (मृत्यु वा बेपत्ता) भएको थियो । रासस/एएफपी