लीलाराज खड्का
बिर्तामोड, पुस १७ गते । स्थानीय सामुदायिक वनमा दाउरा खोज्न गएकी झापा कचनकवल गाउँपलिका –७ की ३५ बर्षीय महिला केलावती राजवंशीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
स्थानीय दिपज्योति सामुदायिक वनमा साथीहरुसँगै दाउरा खोज्न गएकी राजवंशीसँग सामुदायिक वनमा हात्तीसँग जम्काभेट भएको थियो । बुधवार मध्यान्ह कचनकवल गाउँपलिका –७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएकोमा सोही ठाउँ बस्ने बर्ष केलाबत्ती राजवंशीलाई जंगली हात्तीले लखेटेको थियो ।
उहाँ हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्नेक्रममा वनक्षेत्रनजिक जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला पर्नुभएको थियो ।
उहाँलाई साँझ ४ः४० बजे फेला पारी उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । साँझ ५ः१० बजे अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।