• २० पुस २०८१, शनिबार

चिसोले जनजीवन प्रभावित

blog

प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीमा उपचारमा आएका बिरामी तथा कुरुवाहरू आगो ताप्दै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस १७ गते । महोत्तरी जिल्लामा तीन दिनदेखि बढ्दै गएको चिसोको कारणले जनजीवन प्रभावित बनेको छ । आज बुधबार पश्चिमी हावा चलेको कारणले चिसो थप बढेको देखिएको छ । 

अन्तराष्ट्रिय नव वर्षको कारणले बजार, हाटहरुमा रौनकता देखिएपनि विभिन्न ठाउँहरूमा बालबालिका, वृद्धवृद्धाहरू आगो तापिरहेका छन् । चिसो बढे पनि अस्पतालमा भने बिरामीको चाप कम देखिएको छ । 

प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको इमरजेन्सी शाखामा भेटिनुभएका चिकित्सक डा.कृष्णा पंजियारले चिसो बढे पनि नववर्षको कारणले आज बुधबार बिरामीको चाप कम देखिएको हुन सक्ने बताउनुहुँदै चिसोमा न्यानो भएर घरमा नै बस्न सबैलाई आग्रह गर्नुभयो । 

चिसो मौसममा रुधाखोकी, निमोनिया लगायतका रोगहरू लाग्ने र सोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरू प्रभावित हुने भएकोले उनीहरूलाई न्यानो लुगा लगाइदिने, झोलिलो खानेकुराहरू दिनुपर्ने चिकित्सक पंजियारले बताउनुभयो ।

तीन दिनदेखि चिसो बढे पनि महोत्तरीका स्थानीय पालिका तथा दैविक प्रकोप उद्धार समितिले चिसो र शीतलहरबाट बचाउने कुनै कामहरू गरेको देखिएको छैन । जलेश्वर नगरपालिका १ बस्ने सुरेश राउतले चिसो बढे पनि पालिकाले कहिकतै दाउरा, सिरकहरू वितरण नगरेको बताउनुहुँदै पालिकाहरूलाई गम्भिर हुन आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले पालिकाहरूलाई चिसोबाट प्रभावित हुने समुदाय, व्यक्तिहरूको पहिचान गरी वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण तथा न्यानोको लागि उनीहरूलाई सिरक, कम्बल लगायतका वितरणहरू गर्न कार्यालय प्रमुखहरूको बैठकमै जानकारी गराइसकिएको बताउनुभयो । 

विगतमा पनि पालिकाहरूले सिरक, कम्बलहरू वितरण गर्नुका साथसाथै दाउरा समेत वितरण गरेको बताउनुहुदै एक्कासी चिसो बढेकाले पालिकाहरूले वितरण गरेको वा प्रभावित भएकोबारे अहिले कतैंबाट सूचना प्राप्त नभएको सहायक प्रजिअ न्यौपानेले बताउनुभयो ।

पश्चिमी चिसो हावाका कारणले तापक्रम तल झर्दै गएको देखिएको छ । चिसोको कारणले बजारमा चहलपहलमा कमी देखिएको छ भने कार्यालयहरूमा सेवाका लागि आउने सेवाग्राहीको उपस्थिती पनि पहिलेभन्दा न्युन देखिने गरेको छ ।