हरेक पुस १५ गते कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व पर्ने गर्छ । यो कुलुङ जातिको नयाँ वर्षको दिन पनि हो । ‘चाक्चाकूर’ को पूरा नाम ‘मीनारी दाचाम चाक्चाकूर’ हो । जे भए पनि कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व मनाउने समय पनि गुरुङ जातिको ‘तमु ल्होछार’ सँगसँगै पर्ने गर्छ ।
एकै समयमा पर्ने गरेको कुलुङ जातिको नयाँ वर्ष ‘चाक्चाकूर’ पर्वबारे चाहिँ खासै चर्चा हुने गरेको छैन । कुलुङ जातिले हरेक वर्ष पुस १५, १६ र १७ गते भव्य रूपमा ‘चाक्चाकूर’ पर्व मनाउने गर्छन् ।
कुलुङ जाति पनि नेपालको एक विशिष्ट जाति हो । जुन जातिको आफ्नै मातृभाषा, संस्कार, संस्कृति, रहनसहन, वेशभूषा, परम्परागत विधि विधान, मूल्य–मान्यता, नैतिक शिक्षा, लिखित इतिहास, जातीय संरचना, पितापुर्खाले मान्दै आएको चाडपर्व तथा बाजागाजा, गरगहना आदि छन् । कुलुङ जातिको आफ्नो पितापुर्खाले बसोबास गर्दै आएको ऐतिहासिक भूमि ‘महाकुलुङ भूमि’ छ । जुन हाल कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाको भूक्षेत्रमा पर्दछ ।
कुलुङ जातिले नयाँ वर्षलाई ‘नीङ दोङ’ पनि भन्ने गर्छन् । कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ (कूलू गूसखोम)’ ले विसं २०६१, २०६८ र २०८० मा सुनसरी जिल्लाको धरान (सेउतीपारि) मा देशभरिका कुलुङको भेला गरेर कुलुङ जातिले मान्दै र गर्दै आएका चाडपर्व, संस्कार, संस्कृति, मूल्य–मान्यता, रहनसहन, वेशभूषा, बाजागाजा, गरगहना, ऋतु अनुसार गरिने परम्परागत विधि–विधानका बारेमा छलफल गरेको थियो ।
भेलामा उपस्थित भएका कुलुङहरूका अनुसार प्राचीन कालमा कुलुङ समुदायले ‘मीनारी–दाचाम् चाक्चाकूर’ मनाउँदा बाँसको ढुङ्ग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी बाँसकै खपटा वा पातमा पस्केर खाने गर्दथे ।
यसरी बाँसको ढुङ्ग्रोमा पकाएको भात र तिहुनलाई कुलुङ भाषामा ‘पीतीतीम’ भनिन्छ । कुलुङ जातिले तीन दिनसम्म ‘मीनारी–दाचाम् चाक्चाकूर’ मनाउने व्रmममा पहिलो दिन सबैले आआफ्नो घरमा मीठो मसिनो जे छ त्यही पकाएर, तुल्याएर खाने गरिन्छ । दोस्रो दिन छोरी–चेली आफ्नो माइतीको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न तथा आशिष दिन माइतीघरमा आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरू ‘तोबूवा दोलम्’ भन्छन् ।
त्यस्तै तेस्रो दिन माइतीपक्ष पनि आफ्ना छोरीचेलीको घरमा गएर उही रितले आशिष दिने गर्छन् । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।
कुलुङ जातिमा ‘मीनारी–दाचाम् चाक्चाकूर’ कसरी मनाउन थालियो भन्ने सम्बन्धमा कुलुङमा एक किंवदन्ती रहेको छ । किंवन्दती अनुसार कुलुङ जातिका पुर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ तथा एक छोरा खोक्चीलिप गरी तीन सन्तान थिए । तिनीहरू सानो छँदै खार र दुम्दुलिमलाई ललदुम (वनमान्छे) ले खायो । त्यसपछि लोस र खेउले भाइ खोक्चीलिपलाई बेवारिसे अवस्थामा छाडेर गए ।
खोक्चीलिप ठूलो भएपछि वेइलीम्मासँग विवाह गरे । विवाहपछि संयोग कस्तो प¥यो भने एक दिन खोक्चीलिपले आफ्नी श्रीमती वेइलीम्मालाई आफ्नो दुई दिदी पनि थिए भनी बताए । त्यसो हो भने दिदीहरूलाई खोजेर ल्याउन त भनी वेइलीम्माले आग्रह गरेपछि खोक्चीलिप आफ्ना दिदी खोज्न हिँडे । नभन्दै भाइ र दिदीको भेट पनि भयो । दिदीहरूले भाइ मरिसकेको ठानेका थिए ।
यसरी अकस्मात् भाइसँग भेट भएपछि दिदीहरू आश्चर्यमा परे र सानैमा भाइलाई छाडेर गएकोमा पश्चात्ताप गरे । भाइले आफ्नो घर जान आग्रह गरेपछि दिदीहरूले नाइ भन्न सकेनन् । लोस र खेउ भाइको घरमा गए । नयाँ अन्नबालीबाट बनाइएको मीठोमसिनो खाए । सोही दिनदेखि नै कुलुङ जातिले ‘चाक्चाकूर’ मनाउन थाले ।