इमान सिं राना
रामपुर (पाल्पा), पुस १६ गते। उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि नेपाली कांग्रेस चुनौतीलाई सामाना गर्न तप्पर हुनु पर्ने बताउनुभएको छ। चुनौतीलाई सामाना गर्नका लागि सक्षम, प्रभावकारी र व्यवस्थितरुपमा पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभएको हो।
पाल्पाको रामपुरमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको मंगलबार समुद्घाटन गर्नुहुँदै उहाँले पार्टीलाई व्यवस्थित, विधि र नियम संगत ढङ्गबाट संस्थागत रुपमा अघि बढाउनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “लामो सङ्घर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्बर्द्धन गर्नका लागि नेपाली कांग्रेस पार्टी भित्र आउँदै गरेको चुनौतीलाई सामाना गर्न सक्ने सक्षम, प्रभावकारी र व्यवस्थित पार्टीको रुपमा अघि बढाउनुपर्ने चुनौती सामना गर्न हामी तप्पर हुनु पर्छ।”
राष्ट्रिय एकता तथा मेलमिलापको दिवसको अवसर पारी भएको कार्यक्रममा उहाँले विधि र नियम अनुसार संस्थागत रुपमा पार्टीलाई अघि बढाउन सके मात्र संस्थापक नेताहरुले सिकाउनु भएको सिद्धान्त र आदर्शको कदर हुने बताउनुभयो। उहाँले भन्नुभयो, “जनताको, राष्ट्रको र समाजको सेवा गर्नका लागि हामी लागेको कारणले यो भावनालाई सर्वोपरी मानेर प्रजातान्तिक मूल्य र मान्यतालाई संस्थागत गर्नका लागि उहाँहरुले त्याग र तपस्या गर्नु भएको हो।”
बिपी कोइरालाले राष्ट्रिय एकता मै आँच आउने सम्भावना रहेकाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको स्मरण गर्नुभयो। पुस १६ महत्त्वपूर्ण दिन भएको बताउँदै उहाँले भन्नुभयो, “बिपी कोइरालाले नीतिको प्रतिपादन गर्दै गर्दा दक्षिण एसियामा निकै ठूलो अस्थिरता उत्पन्न भइरहेको थियो। उहाँले दक्षिण एसियामा राष्ट्रिय एकता मै आँच आउने सम्भावना रहेको कारणले प्रजातन्त्रवादीहरु राष्ट्रियता जोगाउनका लागि देश भित्रै जानुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरी लामो समय निर्वासित जीवन विताएर बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु देश फर्किनु भएको दिन भएको कारणले यो दिन महत्त्वपूर्ण रहेको छ।”
गणेशमान सिंह कांग्रेसले मात्र नभइ सबै जनताले मान्ने नेता भएको बताउँदै उहाँको सम्मानमा भवन निर्माण भएको धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले हार्दिकता सहितको एकतालाई कायम राख्दै मुलुक बाट नैरास्यता हताउन तीनै तहका सरकारले सक्रिय भुमिका खेल्नुपर्ने बताउनुभयो।
बेझाँड बजारमा निर्माण भएको पाँचतले भवन ७७ लाख ९३ हजार ४७८ रुपियाँको लागतमा सम्पन्न भएको गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो। भवनको २०७० सालमा शिलन्यास भएको भवनको २०७१ देखि निर्माण सुरु भएको थियो। सुरुवातमा स्थानीय विकास मन्त्रालयबाट विनियोजित १० लाख रुपैयाँबाट भवन निर्माण सुरु भएको थियो। त्यस पश्चात जिल्ला विकास समिति पाल्पाको १० लाख, रामपुर नगरपालिका बाट विभिन्न समयमा विनियोजित ५२ लाख, अन्य दताहरुको सहयोग तथा घरभाडा बाट भवन निर्माण सम्पन्न भएको नेपाली कांग्रेस रामपुरले जनाएको छ।
भवन समुद्घाटनको अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले पूर्व रामपुर गाविस अध्यक्ष रामप्रसाद भट्टराई, भवन निर्माण समितिका संयोजक क्याप्टेन बहादुर थापा मश्राङ्गीलाई सम्मान गरिएको थियो। नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति ज्ञानप्रसाद भण्डारीको स्वागत र सचिव चिरञ्जीवी सिग्देलको सञ्चालनमा भएको हो।