कविराज घिमिरे
हिले, पुस १६ गते । अफ सिजनमा पर्यटक आकर्षित गर्न पूर्वको पर्यटकीय नगरी भेडेटारमा १२ औं फुड फेस्टिवल सुरु भएको छ । फेस्टिवलको कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मन्डलले उदघाटन गर्नुभयो ।
महोत्सवको उदघाटन गर्दै मन्त्री मण्डलले पूर्वमा पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो । त्यस्तै, प्रदेश सरकारले घोसणा गरेको कोशी पर्यटन वर्ष सफल पार्न सबै आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिनुभयो ।
होटल एसोसिएसन भेडेटारको आयोजनामा सुरु भएको फेस्टिवलमा स्थानीय परिकार, अर्गानिक तरकारी फलफूल, कृषि सामग्री, प्रदर्शनीमा राखिएको छ । फेस्टिवलमा ५० हजार पर्यटक भित्र्याउने तथा दुई करोड बढीको कारोबार गरिने लक्ष्य राखिएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो ।
हिउँद लागेसँगै भेडेटार आउने पर्यटकको सङ्ख्या घट्ने भएकाले बर्सेनी अङ्ग्रेजी नयाँ वर्षलाई लक्षितगरी फेस्टिवल आयोजना गरिँदैआएको अध्यक्ष लिम्बूको भनाइ छ । त्यस्तै, फेस्टिवलमा भेडेटारनजिक रहेको नमस्ते झरना, सागुरीगढी, पाथीभरा मन्दिर, नाम्चे, आत्माघर, स्काइ वाक, बौद्ध बिहार, ध्वजेडाँडा लगायतका पर्यटकीयस्थल घुमाइने आयोजकले जनाएको छ ।