विजयकुमार साह
ढल्केबर, पुस १६ गते । मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनुषाको ढल्केबरस्थित पोखरिया तालमा इस्वी संवतकाे नयाँ वर्ष २०२५ को अवसमा पिकनिक तथा घुम्न आउने पर्यटकको सुविधाका लागि विभिन्न तयारी गरिएको छ ।
पोखरिया संरक्षण समितिले पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी, विद्युतीयकरण र सुरक्षा व्यवस्था कडा बनाएको छ ।
यस पर्यटकीय स्थलमा धनुषा, महोत्तरी, सर्लाही, सिराहालगायत क्षेत्रका आन्तरिक पर्यटक र छिमेकी मुलुक भारतीय सीमावर्ती क्षेत्र जयनगर, मधुवनी, सीतामढीलगायत क्षेत्रबाट पर्यटक वनभोज र घुम्न आउने गरेका छन् ।
नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न तथा सामूहिक रूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरू यहाँ आउने गरेको पोखरिया ताल संरक्षण समितिका सचिव रामबाबु कडारीले बताउनुभयो । उहाँले पर्यटकको रमाइलोका लागि यसपालि डुङ्गा, घोडा सवारी, झोलुङ्गेलगायत साधन थप गरिएको उहाँले जानकारी दिनुभयो ।
ढल्केबर चोकबाट तीन किलोमिटर उत्तरमा पर्ने पोखरिया ताल पर्दछ । हरियाली वनले घेरिएको तराईको आकर्षक पर्यटकीय गन्तव्य हो । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको यो ताल सात बिघा क्षेत्रमा फैलिएको छ । सागरको बीच भागमा उत्तेश्वर महादेवको मन्दिरले तालको महत्व अझ बढाएको छ ।
यसैगरी अङ्ग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । भगवानको र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा भारतीय पर्यटक आउने गरेका हुन् । धनुषा र महोत्तरीको विभिन्न नाकाबाट भारतीय पर्यटक अत्यधिक रुपमा यहाँ आउने गरेका छन् ।