चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १६ गते । ताप्लेजुङको फुङ्लिङमा सम्पन्न प्रथम स्वर्गीय पदमबहादुर गुरुङ स्मृति खुला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानीले जितेको छ । सोमबार भएको फाइनलमा साथीभाइ युवा समूहलाई पराजित गर्दै सङ्घर्षले उपाधि जितेको हो ।
तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । सङ्घर्षले साथीभाइ युवा समूहमाथि ४–२ गोल गरेको थियो । यता प्रतियोगिताको विजेता सङ्घर्ष स्पोर्टिङ क्लबले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता साथीभाइ युवा समूहले नगद ५१ हजार १११ रुपियाँ र ट्रफी, पदक तथा प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । प्रतियोगिता तमु ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङको समन्वयमा फुङ्लिङ–६ बतासेस्थित ताप्लेजुङ स्पोर्टिङ क्लबले आयोजना गरेको हो ।
यसैबिच तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदानसहितका विविध कार्यक्रम गरिएको थियो । जिल्लास्थित तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् र निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिको संयुक्त आयोजनामा ल्होसार भव्यरुपमा मनाइएको हो ।
शुभकामना आदानप्रदान, गुरुङ समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत लगायतका कार्यक्रम गरिएको छ । सम्मानित व्यक्तित्व तथा पुरस्कृत हुनेलाई प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम, फुङ्लिङ नगरप्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालगायतले सम्मानपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो ।