बाजुरा समाचारदाता
बाजुरा, पुस १६ गते । बाजुराका अधिकांश गाउँबस्तीमा सोमबारदेखि भुवा र भस्सोको रौनक छाएको छ । पुस १५ कै दिन यहाँका स्थानीयले कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवा खेल्न सुरु गरेपछि त्यसको रौनकता छाएको हो । यहाँका प्रायः गाउँबस्तीमा दमाहा बाजाका साथ स्थानीयले हातमा ढाल तरबार समातेर भुवा खेल्न थालेका छन् । खेतीपातीको काम सकेर फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गाथामा आधारित छ । यही पर्वलाई अवसरमा पारेर बिदेसिएका पनि आआफ्नो घर फर्किने हुँदा गाउँघरमा थप रौनक थपिएको हुन्छ ।
पुसे औँसीको अघिल्लो रातबाट काठको मुढो बालेर सुरु गरिने भुवा पर्वमा युवा दौरासुरुवालमा सजिएर हातमा ढाल, तरबार तथा लाठी खेलाएर नाच्ने गरेका छन् । त्रेता युगमा पाण्डव कौरवबिचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाइएको दिनमा यो पर्व मनाइने किंवदन्ती छ । यसमा पाण्डवको विजयको गाथामा आधारित गीत गाइन्छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा र तल्लो क्षेत्रमा रहेको बडीमालिका, गौमुल, बढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकालगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रूपमा मनाइने गरिन्छ ।
छिमेकी जिल्ला अछामको साँफे नगरपालिका बलेल्त, तुका, भेरासैन, बाब्ला र बटालीगाउँ र बझाङको छान्ना, गोलाई, पढेस, थलारा र भातेखोलालगायतका गाउँबस्तीमा पनि यो भुवा र भस्सो खेल्ने चलन छ । पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काइ लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँको बाल्ने गरेको बुढीगङ्गा नगरपालिका–४, बानेगाउँका कलक कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पर्वमा दमाह बजाएर तरबार हातमा लिएर चाली खेल्ने र रातभरि आगोको मुढा सल्काएर देउडा खेल्ने गरिन्छ ।”
भुवा पर्वको समयमा गाउँमा छैट पनि खेल्ने प्रचलन छ । गाउँमा कसैको घरमा जेठा छोरा जन्मेको एक वर्ष पूरा भएपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान् कृष्णको गाथा गाउने र जन्मेको बच्चालाई गाउँका ठुलाबडाले आशीर्वाद दिनुका साथै घरको मान्छेले सबै गाउँलेलाई बोलाई भोज गर्ने चलन पनि यस पर्वको अर्को विशेषता छ । यो पर्वको अवसर पारेर गाउँमा कसैले नयाँ जागिर पाएमा, पदोन्नति भएमा अथवा परिवारमा खुसीको काम भएमा बेठ दिने र गाउँघरमा मान्छे बोलाई भोज खुवाउने प्रचलन रहेको छ । पर्व सुरु गरेको दुई/तीन दिनपछि गाउँ गाउँमा माग्न जाने र त्यसपछि अन्तिम गर्ने समयमा भुवा भस्याउने गर्दछन् ।
तराईमा ढाल, तरबारको नाचको पर्व सुरु
कैलाली समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मनाइने ढाल तरबारको नाचको पर्व भुवा कैलाली र कञ्चनपुरमा पनि सुरु भएको छ । पहाडी जिल्लाबाट बसाइँसराइ गरेर तराईको कैलाली र कञ्चनपुर आएकाले भुवा पर्व मनाउन थालेका हुन् । यस क्रममा कैलालीको धनगढीमा तीन दिनसम्मका लागि भुवा पर्व औपचारिक रूपमा आयोजना भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका–१, खुलामञ्चमा सोमबारदेखि तीन दिनसम्म पर्व मनाइने भएको हो । बाजुरेली सेवा समाजको आयोजनामा यो पर्व मनाइन थालेको हो । समाजका अध्यक्ष बजिरसिंह धामीले भुवा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले समेत बिदा दिनु खुसीको कुरा भएको बताउनुभयो । पुस १५ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
अध्यक्ष धामीका अनुसार पुराना लोक संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष यो पर्व मनाउने गरिएको छ । कैलालीका चौमाला, सुखड, रामशिखर झाला र कञ्चनपुरका विभिन्न स्थानमा समेत भुवा पर्व मनाइने गरिएको छ ।