• १९ पुस २०८१, शुक्रबार

सन्दर्भ : राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

समुन्नतिका लागि दलहरूबिच मेलमिलाप

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, पुस १७ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले भन्नुभएको छ, “देशमा प्रजातन्त्र नभए देश रहँदैन । राजा रहँदैनन् । हामीहरूको त कुनै भएन ।”

नेपालको राष्ट्रियता सङ्कटमा परेको देखेपछि विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर जननायक कोइराला स्वदेश फर्किनुभयो । नेपाली कांग्रेसले नेता कोइरालाको यही नीतिको सम्झना गर्दै मङ्गलबार देशैभरि विभिन्न कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छ । देशमा राष्ट्रियताको जग बलियो बनाउने उद्देश्यका साथ निर्वासनमा रहनुभएका बिपी कोइराला स्वदेश फर्किनुभएको स्मरण गरिरहँदा देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा नेपाल प्रवेश गरेको एक दशक हुँदै छ । 

राजनीतिक विश्लेषक प्राडा लोकराज बरालका अनुसार भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकाल लगाएको सन्दर्भमा नेपाल फर्किएर राजासँगै सहकार्य अघि बढाउने लक्ष्य राख्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा इमर्जेन्सी लागेपछि नेताहरूलाई हिँडडुल गर्न समस्या भयो । कांग्रेसको सशस्त्र विद्रोह पनि असफल जस्तो भयो । त्यसपछि राष्ट्रियता र प्रजातन्त्र चाहिन्छ भनेर राजासँगै सहकार्य गर्ने लक्ष्यका साथ उहाँ फर्किनुभयो ।”

प्राडा बरालका अनुसार २०३६ को जनमत सङ्ग्रहको परिणाम नेता कोइरालाले स्वीकार गर्नुभएन । उहाँले भन्नुभयो, “राजाले तेस्रो सविधान संशोधन गर्नुभयो, निर्वाचन घोषणा गर्नुभयो तर धनगढीमा पुगेर बिपीले निर्वाचनमा भाग नहुने भन्नुभयो । मलाई लाग्छ, त्यसै दिन बिपी कोइरालाको राजासँगको सहकार्यको च्याप्टर सकियो ।”

मेलमिलापको नीति अझै अपरिहार्य

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिपीले लिनुभएको राष्ट्रिय मेलमिलापको नीति अझै अपरिहार्य रहेको बताउनुभयो । 

महामन्त्री शर्माले भन्नुभयो, “देश बदल्ने, समाज बदल्ने कुरा विश्वव्यापी रूपमै सामान्यतः शान्तिपूर्ण रूपान्तरण र शक्तिले नियन्त्रण गर्ने हुन्छ । बिपी कोइरालाले शान्तिपूर्ण रूपान्तरणको बाटोबाट सबैको सहअस्तित्वलाई स्वीकार गरेरै गर्नु पर्छ भन्नुभयो । अहिले पनि शान्तिपूर्ण रूपान्तरणमार्फत सबै दलबिच सहकार्यमा अघि बढ्नु पर्छ भन्ने प्रेरणा उहाँको नीतिले दिएको छ ।”

उहाँले नेता कोइरालाले संसदीय प्रणालीलाई साझा बाटो बनाएर बिपीले मेलमिलापको नीति लिनुभएको र भिन्न भिन्न समुदायको सहकार्य र भिन्न भिन्न शक्तिबिच सन्तुलित सहकार्यमा जोड दिनुभएको स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो, “बिपीले राजासँग सहकार्य गर्ने भन्दै गर्दा पार्टीलाई राजावादी होइन, राजालाई लोकतन्त्रवादी बनाउने कोणबाट सोच्नुभयो । राजतन्त्रलाई होइन, जनतालाई केन्द्रमा राख्नुभयो । पछिल्लो गिरिजाप्रसाद कोइरालाले सहकार्यको थालनी गर्दै बिपीकै मेलमिलापको नीतिका आधारमा माओवादीलाई, माओवादलाई वा बलबाट सत्ता प्राप्त गर्ने दर्शनलाई होइन, लोकतान्त्रिक पद्धति, परिपार्टी र नागरिकलाई केन्द्रमा राख्नुभयो ।”

उहाँले हरेक शक्तिको सहअस्तित्व स्वीकार गर्दै सहकार्य, लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचनको प्रक्रियामा सबै आउन, सहभागी हुन, संसदीय लोकतान्त्रिक गणतन्त्र भनेको बिपी कोइरालाले त्यति बेला जनतालाई केन्द्रमा राख्ने मेलमिलापको नीतिको उत्कर्ष रहेको प्रस्ट पार्नुभयो । 

‘बिपीको नीति २०४६ मा निष्कर्षमा’

उपमहासचिव ज्ञवालीले भारतमा इन्दिरा गान्धीको बढ्दो दबदबा र नेपालको लोकतान्त्रिक आन्दोललाई सघाउनु परे नेपालका लोकतान्त्रिक शक्तिले नेतृ गान्धीका अनुचित स्वार्थलाई पूरा गरिदिनुपर्ने सर्त अघि सारेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसपछि बिपी कोइराला विदेशमा रहेर आन्दोलन गर्दा देशको राष्ट्रियता नै जोखिममा पर्ने बिपीको विश्लेषणसहित देश फर्किनुभयो । बिपी स्वदेश फर्किने क्रममा राष्ट्रिय मेलमिलापको नीति लिनुभयो, त्यति बेलाको महत्वपूर्ण कदम थियो ।”

नेता ज्ञवालीले आफ्नो जीवनकालमा राजतन्त्रविरुद्ध, निरङ्कुशताविरुद्ध समेट्ने कुरामा भन्दा पनि राजालाई रूपान्तरण गर्ने नीति बिपी कोइरालाले लिए पनि सफल हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीकै विचारलाई नयाँ ढङ्गले परिस्कृत गरेर गणेशमान सिंह र मदन भण्डारीको पहलमा २०४६ मा कांग्रेस र वाममोर्चाबिच सहकार्य सुरु भयो । पुष्पलाल श्रेष्ठले संयुक्त जनआन्दोलनको प्रस्ताव गर्नुभएको र बिपी कोइरालाले मेलमिलापको नीति अघि सार्नुभएको विषयले मूर्त रूप पायो ।”

उहाँले त्यही जगमा टेकेर गिरिजाप्रसाद कोइरालाले पनि सबै दलसँग मिलेर जाने र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नीतिकै रूपमा त्यसलाई व्याख्या गर्नुभएको स्मरण गर्नुभयो । 

समुन्नतिका लागि सहकार्य

प्राडा बरालले नेपालका राजनीतिक दलबिच सहकार्य पटक पटक भएको बताउनुभयो । उहाँले गणतन्त्र ल्याउन ठुलो सङ्घर्ष गरेको बताउँदै जनतालाई स्वीकार्य हुने गरी विकासको नवीनतम यात्रा अघि बढाउन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक दलबिच माओवादी, एमाले, कांग्रेस मिलेर पटक पटक सरकार चलाएका छन् । अब स्थिरता, आर्थिक विकास, समुन्नति, सुशासन र सामाजिक सुधारमा ध्यान दिनु पर्छ । दक्षिण एसियामै उदाहरणकै रूपमा सबै दल मिलेरै सरकार बनाएका छन् । अब क्षमता देखाउनु पर्छ । स्वार्थकेन्द्रित हुनुभएन ।”

महामन्त्री शर्माले राजनीतिक प्रणालीमा पद्धति बने पनि अब अब प्रवृत्ति बन्नुपर्ने बताउनुभयो । उहाँले राजनीति, समाज र विकासको गति चाहिएकाले आत्मसमीक्षासँगै रूपान्तरणमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस कारण मेलमिलाप र सहकार्यको औचित्य र आवश्यकता झन् बढेको छ ।”

उपमहासचिव ज्ञवालीले अहिले लोकतान्त्रिक शक्तिको मेलमिलाप र एकता आवश्यक रहेको बताउनुभयो । उहाँले कांग्रेस र एमालेको सहकार्य महत्वपूर्ण रहेकाले त्यसलाई सार्थक र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र, राजनीतिक स्थायित्वको सुशासन र सामाजिक सद्भावका पक्षधर र राष्ट्रिय एकताका पक्षधरबिच सहकार्य र मेलमिलापका रूपमा अघि बढाउनु पर्छ ।”

विसं १९७१ भदौ २४ गते जन्मिनुभएका कोइरालाको राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्दा गर्दै क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।