गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १६ गते । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोपमा काठमाडौँ प्रहरीको हिरासतमा रहनुभएका ‘साई स्वागत सहकारी’ का अध्यक्ष भरत जङ्गम सोमबार रिहा हुनुभएको छ ।
सर्वसाधारणले बचत गरेको दुई करोड २२ लाख रुपियाँ हिनामिना गरेको उजुरीपछि जिल्ला प्रहरी परिसर काठमाडौँले जङ्गमलाई यही पुस ७ गते काठमाडौँबाट पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयमा अध्यक्ष जङ्गम र पीडित पक्षबिच हिनामिनाको रकम फिर्ता गर्ने सहमति अनुरूप मिलापत्र भएपछि प्रहरीले हिरासतमा रहनुभएका जङ्गमलाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । जङ्गमले पीडितले जाहेरीमा माग गरेको बिगो रकम बराबरको झन्डै सवा करोड रुपियाँ बराबरको बैङ्क चेक (गुडविल फर पेमेन्ट) बुझाएपछि मिलापत्र गरी छुट्नुभएको हो ।
जङ्गम अध्यक्ष रहेको साई स्वागत सहकारीको उपाध्यक्षमा निकिता पौडेल हुनुहुन्छ । पौडेल कास्की प्रहरी हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी हुनुहुन्छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीमा सर्वसाधारणले बचत गरेको दुई करोड २२ लाख हिनामिना भएको खुलेको छ । बचतकर्ताका तर्फबाट काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा उजुरी परेपछि महानगरपालिका र सिआइबीले सहकारीको कार्यालयमा छापा मारी कागजपत्र जफत गरेको थियो ।