• ७ वैशाख २०८२, आइतबार

बेचबिखनमा परेकी युवतीको उद्धार

blog

जयकृष्ण यादव 

इनरुवा , पुस १५ गते । झापाको शिवसताक्षी नगरपालिका २ की १७ वषिर्या एक युवतीलाई कामको प्रलोभन दिएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोसी गाउँपालीका ८ भण्टाबारीको सीमा नाकाबाट उद्धार गरिएको छ । 

युवतीलाई भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरी सुनसरीलाई शंका लागेर सोधपुछ गरेका थिए । यसरी भारत बिहार राज्यको सुपौल जिल्लाको बीरपुरका २८ वर्षिय नयनकुमार यादव र उदयपुर जिल्ला ठोक्सिला ९ बस्ने २४ वर्षिय उज्जवल खड्कालाई गिरफ्तार गरिएको हो । 

सशस्त्र प्रहरीले युवतीको उद्धार र बेचबिखन गर्न लाँदै गरेका यादव र खड्कालाई नेपाल प्रहरीको जिम्मा लगाइएको कोसी गाउँपालिका ८ भण्टाबारीको सीमा नाकामा अवस्थित सूचना केन्द्रका कर्मचारी पहलाद आलमले जानकारी दिनुभयो । 

कामको बहानामा ललाईफकाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गर्दा सीमामा तैनाथ सुरक्षाकर्मीको सहयोगमा बेचबिखनमा परेकी युवतीको उद्धार गर्न सफल भएको आलमको भनाइ छ । यसबारे प्रतिक्रिया दिँदै सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको बताउँदै पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । 

पक्राउ परेका व्यक्तिहरु दोषी देखिएमा कानुन अनुसार कारबाही गरिने प्रतिकृया दिनुभयो । नेपालबाट विभिन्न प्रलोभन देखाएर लाने विभिन्न उमेर समूहका बालबालिका इट्टा भट्टा, तरकारी खेतीमा लगाउने गरिएको छ भने युवावर्गलाई शारीरिक बन्धक बनाई होटेल, रिसोर्ट, वेश्यावृती लगायतका काम लगाउने गरिएको बताइएको छ । मानव बेचबिखनका घटना बढेपछि कोशी गाउँपालीकाको कार्यालयले सीमा नाकामा सूचना केन्द्र स्थापना गरी निगरानी गर्दै आएको छ ।