• १८ पुस २०८१, बिहिबार

फाल्गुनन्द गोल्डकप फाइनल : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

blog

फाल्गुनन्द गोल्डकप सञ्चालन भइरहेको फिदिम माविको खेल मैदान । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, पुस १५ गते । पाँचथरको फिदिममा जारी ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनल खेल आज हुँदैछ । प्रतियोगितामा उपाधीका लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लव प्रतिश्पर्धामा छन् ।

सेमी फाइनलमा चर्च ब्वाइजले आयोजक फिदिम स्पोर्टिङ क्लव र मछिन्द्र फुटबल क्लवले ए डिभिजन न्यु रोड टिम (एनआरटि) लाई हराएको थियो । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा हुने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।

पुस ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले १० लाख ५ सय ५५ रुपियाँ र उप विजेताले ५ लाख ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछन् ।

यस्तै, खेल अवधि भरका उत्कृष्ठ खेलाडीले एकथान इवि स्कुटर र विधागततर्फ उत्कृष्ठ खेलाडीहरुले नगद १५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । नेपालका १६ औं विभूती फाल्गुनन्द लिङ्देनको स्मृतिमा २०६५ सालदेखि सुरु भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो । 

दशौं संस्करण पुरा भएपछि खेल मैदानको पर्खाल भत्किनुका साथै कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितालाई यसवर्ष एघारौं संस्करणका रुपमा निरन्तरता दिइएको हो ।