• १८ पुस २०८१, बिहिबार

चोरी र लागूऔषध मुद्दामा तीन जना पक्राउ

blog

लागूऔषधसहित पक्राउ परेका युवक । तस्बिर : जल्ला प्रहरी कार्यालय पाल्पा

रेखीराम राना
तानसेन, पुस १५ गते । सुनका गहना चोरी मुद्दामा दुई र लागूऔषध मुद्दामा एक गरी तीन जना पक्राउ परेका छन् ।लागूऔषधसहित पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका–९, पृथ्वीचोक बस्ने २८ वर्षका चोकबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

श्रेष्ठको साथबाट ४६ एम्पुल डाइजोपाम, ४६ एम्पुल फेनेरेगान र ४६ एम्पुल नोफिन गरी १३८ एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

जिल्लाको बगनासकाली गाउँपालिका–५, स्थित राम्दी कालीगण्डकी क्षेत्रमा झोला बोकेर हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्ने क्रममा श्रेष्ठको साथबाट लागूऔषध फेला परेको मल्लले बताउनुभयो । श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सुनको गहना चोरी कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–७, कल्लाबारीकी ३४ वर्षीया रश्मी पचभैया र रम्भा गाउँपालिका–३, का ३८ वर्षीय गम्भरसिंह दुधराज रहेका छन् ।

गत पुस १० गते बगनासकाली–७, कल्लाबारीकी ३१ वर्षीया पेमा पचभैँयाले घरमा राखेको सुनका गहना चोरी भएको भनी प्रहरीमा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा रश्मीलाई पक्राउ गरिएको थियो ।

रश्मी पक्राउ परेपछि चोरी भएको सुनको गहना तानसेन–२, नारायणस्थानस्थित पिपलडाँडे रम्भादेवी सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएको मल्लले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न सुनचाँदी पसलका सञ्चालक दुधराजलाई समेत पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।