• ८ वैशाख २०८२, सोमबार

सत्ताइस वर्षमा पनि पूर्ण भएन सडक

blog

बिजुवार समाचारदाता

बिजुवार, पुस १५ गते । प्युठानको बिजुवार, ढुङ्गेठाँटी हुँदै रोल्पाको सुनील स्मृति गाउँपालिकाको अरेस जोड्ने सडकको ट्र्याक खोलिएको २७ वर्ष पूरा भइसक्दा पनि त्यसले पूर्णता पाएको छैन । सडक साँघुरो र अप्ठ्यारो हुँदा यहाँका नागरिकले दुःख भोग्दै आएका छन् । बिजुवारदेखि अरेससम्मको करिब २१ किलोमिटर सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । हिउँदको समयमा जसोतसो जिप चले पनि वर्षाका अधिकांश समय बन्द नै रहन्छ । 

विसं २०५४ मै खनिएको यो कच्ची सडक स्तरोन्नतितर्फ राज्यको ध्यान नगएको भन्दै बर्सौंदेखि स्थानीयले गुनासो गर्दै आएका जुम्रीकाँढाका निमराज केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक साँघुरो र अप्ठ्यारो भएकाले यात्रा गर्न निकै सास्ती खेप्नु पर्छ । सम्बन्धित निकायले ध्यान दिई चाँडो स्तरोन्नति गरेमा यात्रा गर्न सहज हुने थियो ।”

दुई जिल्ला जोड्ने यो सडकलाई प्युठानसहित पूर्वी रोल्पाको ‘जीवनमार्ग’ का रूपमा लिइन्छ । अरेस क्षेत्रका लागि जिल्ला सदरमुकाम लिबाङ अपायक पर्ने हुँदा प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बिजुवार झर्छन् । औषधीउपचार, व्यापारिकलगायत कामका लागि उनीहरू बिजुवार आउने गरेका छन् । सवारीसाधनको नाममा यहाँ मोटरसाइकल र जिप मात्र चल्ने गरेका छन् ।