• ८ वैशाख २०८२, सोमबार

विदेशको कमाइ सामाजिक सेवामा

blog

ह्विलचेयर प्रदान गर्दै सैनामैना सेवा समाजका पदाधिकारी । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, पुस १५ गते । रुपन्देही जिल्लाबाट कामको खोजीमा खाडी मुलुक दुबई पुगेका नेपालीले त्यहाँ कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । दुबई पुगेका नेपालीले सैनामैना सेवा समाज युएई नामक संस्था गठन गरेर सामाजिक काममा सहयोग गर्दै आएका  छन् ।  

समाजले सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न वर्गका बालबालिकाको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षय कोषसमेत स्थापना गरेका छन् । सो अक्षय कोषबाट आउने रकमबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ । समाजले सैनामैनाको साबिक दुधराक्ष, पर्रोहा र सालझन्डी गरी तीन विद्यालयमा एक/एक लाख रुपियाँका दरले अक्षयकोष स्थापना गरेको छ । 

समाजका अध्यक्ष विष्णु पन्थीले परदेशमा कमाएको पैसा आफ्नो गाउँठाउँका विपन्न वर्गको सेवामा लगानी गर्ने उद्देश्यले विगत १० वर्षभन्दा बढी समयदेखि विद्यालयका साथै अशक्त र बिरामीको सेवा गर्दै आएको बताउनुभयो । 

समाजका महिला सचिव सुषमा सुनारले विदेशमा बसेर भए पनि सैनामैनामा रहेका गरिब तथा विपन्नलाई आफूहरूले सक्दो सहयोग गर्दै आएको र भोलिका दिनमा सहयोगको क्रम जारी रहने बताउनुभयो । उहाँले विद्यालयका बालबालिकालाई छात्रवृत्ति मात्रै नभई अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग गर्दै आएको बताउनुभयो । 

उहाँले फरक क्षमता भएका भएका व्यक्तिलाई ह्विलचेयर वितरण गर्दै आएको बताउँदै आगामी दिनमा पनि सैनामैनामा रहेका गरिब तथा जेहेनदार विद्यार्थीका लागि विद्यालयमा अक्षयकोष स्थापना गर्दै जाने बताउनुभयो । त्यसै गरी समाजले रुपन्देहीको सैनामैना नगरपालिका–११, तालीबरौलीका ५६ वर्षीय लौटन थारूलाई ह्विलचेयरसमेत वितरण गरेको छ । थरूलाई १० वर्षअघि उच्च रक्तचाप भएको थियो । त्यसपछि उहाँको शारीरिक कुनै पनि अङ्ग चल्दैन ।