रमेश विश्वकर्मा
गुल्मी, पुस १४ गते । गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बीमा कार्यक्रममा यहाँका नागरिकहरुको पहुँच बढ्दै गएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसंख्या रहेको छ ।
हालसम्म यहाँका एक लाख १६ हजार ७५३ जनाले स्वास्थ्य बीमा गराउनु भएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।
संयोजक घिमिरेका अनुसार ५६ हजार ४४५ पुरुष र ६० हजार ३०८ महिलाले स्वास्थ्य बीमा गराउनुभएको छ । यस जिल्लाका ४७.४ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढिरहेको उहाँले बताउनुभयो ।
यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्यांक अनुसार यहाँ २२ हजार २७५ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको हो । मुसिकोट गाउँपालिकाका सात हजार १७५ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ ।
यस जिल्लाको कालीगण्डकी गाउँपालिकाका छ हजार २८९, सत्यवती गाउँपालिकाका १४ हजार ६९६, चन्द्रकोट गाउँपालिकाका पाँच हजार ८६५, रुरुक्षेत्र गाउँपालिकाका १३ हजार १६०, छत्रकोट गाउँपालिकाका नौ हजार ५२३, गुल्मीदरबार गाउँपालिकाका नौ हजार ५२३ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ ।
त्यस्तै, इस्मा गाउँपालिकाका छ हजार ४३३, धुर्कोट गाउँपालिकाका नौ हजार ४९, मदाने गाउँपालिकाका तीन हजार २४४ र मालिका गाउँपालिकाका सात हजार ५६६ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्यांकमा उल्लेख छ । महिला स्वास्थ्य स्वयंसेविकाले ४ हजार ३१८ स्वास्थ्य बीमा गराउनुभएको छ ।
सरकारले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरेको छ । ज्येष्ठ नागरिक १६ हजार ५१४, एचआइभी संक्रमित ४७६, कुष्ठरोगी १२, ‘क’ वर्गका अपाङ्गता भएका तीन हजार ७८३, जटिल खालको क्षयरोग लागेका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बीमाको सुविधा लिनुभएको छ ।