राममणि दाहाल
हेटौँडा, पुस १४ गते । मकवानपुर प्रहरीले चोरीको दुई वटा मोटरसाइकलसहित हेटौँडाको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा १० स्थित बसपार्कबाट र हेटौँडा ८ कमानेस्थित किरनचोकबाट मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा ९ लामसुरे हाइटका सविन मिजार र सर्लाही जिल्ला बागमती गाउँपालिका वडा २ का शरदकुमार श्रेष्ठ रहेका छन् । गत मङ्सिर ३० गते काठमाडौँको रविभवनस्थित पार्किङबाट बागमती प्रदेश ०२–०२८ प ९३७१ नम्बरको मोटरसाइकल चोरी भएकोमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकलसहित हेटौँडा १९ वस्तीपुरमा रहेको सिमोन अटोपार्टस्का सञ्चालक २४ वर्षीय मिजारलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यस्तै, गत भदौ २९ गते काठमाडौँको सातदोबाटोस्थित पार्किङबाट प्रदेश २–०३–०१२ प ६२६८ नम्बरको एनएस मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा ८ कमाने किरनचोकस्थित सडकबाट उक्त मोटरसाइकलसहित २४ वर्षीय श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मिजारलाई तीन दिन र श्रेष्ठलाई पाँच दिनको अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।