• १७ पुस २०८१, बुधबार

प्रलेस प्रतिभा पुरस्कार साहित्यकार झमकलाई

blog

सम्मान ग्रहण गर्नुहुँदै साहित्यकार झमक घिमिरे। तस्बिरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, पुस १४ गते। प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालले प्रलेस प्रतिभा पुरस्कार २०८१ धनकुटाकी साहित्यकार झमक घिमिरेलाई प्रदान गरेको छ। 

आइतबार प्रलेस केन्द्रीय समितिले नगद २० हजार एक सय रुपियाँको पुरस्कारसहित सम्मान पत्रले साहित्यकार झमकलाई सम्मान गरेको हो। 

उहाँलाई प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रलेस उपाध्यक्ष नमुना शर्मा लगायतले नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो।

साहित्यकार घिमिरेले नेपाली साहित्यमा तथा प्रगतिशील वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुर्‍याएकाे भन्दै ‘प्रलेस प्रतिभा पुरस्कार २०८१’ प्रदान गरिएको उपाध्यक्ष शर्माको भनाइ छ।

उहाँले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ चर्चित कृति हो। यही कृतिका लागि उहाँलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको छ ।