• १७ पुस २०८१, बुधबार

जलेश्वरस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

blog

विद्यार्थीहरु टायर बालेर प्रर्दशन गर्दै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस १४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन्। कक्षा ७ मा अध्ययनरत केही छात्राको व्यवहार राम्रो नभएकोले उनलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित बनेका हुन् । 

विद्यार्थीले केही छात्राहरूको अमर्यादित तथा गैरजिम्मेवार व्यवहारले विद्यार्थी, शिक्षकहरू समेत प्रताडित हुँदै गएको भन्दै ती छात्राहरूलाई निष्काशन र कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । विद्यालयकै अगाडि विद्यार्थी टायर बालेर प्रर्दशन सुरु गरेपछि प्रहरीले सुरक्षाका लागि तथा विद्यार्थीको आन्दोलनबारे बुझ्न विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार झालाई जिल्ला प्रहरी कार्यालयमा लगेपछि विद्यार्थी थप उग्र बनेका थिए ।

बाहिर छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यालयका प्रधानाध्यापक झालाई प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि त्यस्तो नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । आन्दोलनबारे बुझ्न तथा सुरक्षाको दृष्टिकोणले प्रधानाध्यापक झालाई प्रहरीमा बोलाइएको हो, बाहिर हल्ला भएको जस्तो केही छैन, प्रवक्ता जैसवारले भन्नुभयो । 

जलेश्वर नगरपालिका-२ मा रहेको यस क्षेत्रकै पुरानो लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका एक शिक्षकले नाम नलेखिदिन भन्दै केही छात्राहरूको व्यवहार राम्रो नभएकोले विद्यालयका शिक्षक तथा प्रधानाध्यापकले पटकपटक सम्झाइबुझाई गरेपनि छात्राहरूको व्यवहार नसुध्रिएपछि अन्य विद्यार्थी आन्दोलित हुन पुगेको बताउनुभयो । 

विद्यार्थी विद्यालयमा समेत तोडफोड गर्नुका साथसाथै जलेश्वर नगरपालिकाको कार्यालयमा गएर ढुँगामुढा गरेका थिए । सयौँको सङ्ख्यामा रहेका विद्यार्थी नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन विद्यार्थीहरुलाई लखेटेका थिए ।

विद्यार्थी अहिले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका छन् । समाचार तयार गर्दासम्म जलेश्वरको अवस्था तनावपूर्ण नै छ ।