रेखीराम राना
तानसेन, पुस १४ गते । लुम्बिनी प्रदेश सरकारले हस्तान्तरण गरेको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) हालसम्म पनि सञ्चालन हुन सकेको छैन । गत वर्ष मङ्सिर २५ गते लुम्बिनी प्रदेश सरकारले तानसेन नगरपालिकालाई डबली हस्तान्तरण गरेको थियो । डबली सञ्चालनका लागि जिम्मा पाएको नगरपालिकाले एक वर्षमा पनि सञ्चालन गर्न नसकेको स्थानीय बासिन्दाले बताएका छन् । झन्डै सात करोड लागतमा निर्माण गरिएको ‘श्रीनगर सांस्कृतिक डबली’ खुला नाचघर तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
डबलीको संरक्षण, सञ्चालन, व्यवस्थापनको सम्पूर्ण अधिकारसहित लुम्बिनी प्रदेश सरकारले नगरपालिकालाई हस्तान्तरण गरे पनि नगरपालिकाले एक वर्षमा पनि डबली सञ्चालन गर्न नसकेको तानसेनका स्थानीय बासिन्दा जहरसिंह सारूले बताउनुभयो । डबली हस्तान्तरण भएको एक वर्ष बिते पनि नगरपालिकाले अझै सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो ।
जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला संस्कृति डबलीभित्र प्रदर्शन गरेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेर यसको निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि मात्र तानसेन नगरपालिकालाई हस्तान्तरण गरे पनि नगरपालिकाले कसरी सञ्चालन गर्ने भन्नेमा अलमलमा देखिएको छ ।
डबली सञ्चालनका लागि समिति बनाए पनि समितिको बैठकबाट ठोस निर्णय हुन नसकेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो । २०७६ असारदेखि सुरु भएको डबली चार वर्ष लगाएर २०७९ असारमा सम्पन्न भएको थियो । डबली स्थानीय सरकारमातहत आएपछि यसले तानसेनसहित पाल्पाको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरे पनि सो अनुसार काम द्रुत गतिमा अगाडि बढ्न नसकेको संस्कृतिविद् निर्मल श्रेष्ठले बताउनुभयो ।
सांस्कृतिक डबली सञ्चालनको जिम्मेवारी नगरपालिकाले लिए पनि यसको दीर्घकालीन सञ्चालनमा भने समस्या रहेको उहाँको भनाइ छ । तानसेनमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई कसरी डबलीमा पु¥याउने, कसरी सञ्चालन गर्ने भन्नेबारे देखिएको अन्योलले डबली सञ्चालनमा ढिलाइ भएको उहाँको बुझाइ छ । सांस्कृतिक डबलीभित्र नाचघर, पाहुनालाई बस्ने तथा विश्रामस्थल, शौचालय, नुहाउने, चिया, कफीको व्यवस्था रहेको छ । पाल्पाको तिनाउ गाउँपालिकास्थित नुवाकोटमा बनेको डबली भने हस्तान्तरण हुन सकेको छैन । प्रदेश सरकारले तिनाउ र तानसेनमा एकै पटक डबली निर्माण सुरु गरेको थियो ।