गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १४ गते । सातै प्रदेशमा केबुलकार संरचना पुर्याउने घोषणा गरेको आइएमई समूहले कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबुलकार निर्माण सुरु गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले शनिबार लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबुलकारको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबुलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो ।
उहाँले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटनलगायतका पूर्वाधारमा लगानी बढाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मन्त्रालय विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गर्नुभयो ।
जालपादेवी केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताउनुभयो ।
उहाँले केबुलकार पर्यटन सर्किट बनाउने समूहको लक्ष्यलाई जालपादेवी केबुलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताउनुभयो ।
कुल पाँच अर्ब रुपियाँ लगानी हुने केबुलकार ३.१ किलोमिटर लामो हुने छ । केबुलकारमा ३४ वटा गोन्डोला हुने छन् । काठमाडौँको चन्द्रागिरिमा पहिलो केबुलकार स्थापना गरेको सो समूहले नवलपुरको मौलाकालिका र बुटवलमा पनि केबुलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।