चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा आयोजना हुने सङ्घीय मेलाको तयारी तीब्र छ । आयोजकका अनुसार यही पुस १६ देखि १८ गतेसम्म आयोजना हुने ऐतिहासिक सङ्घीय मेलाको तयारीलाई तीब्र पारिएको हो ।
आयोजक सङ्घीय खेलकुद तथा सांस्कृतिक युवा क्लबले शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको हो । मेलाको मिति नजिकिएसँगै तयारीलाई तीब्र पारिएको क्लबका अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार मेलाको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ ।
राष्ट्रिय कलाकार प्रमोद खरेल, कुशल थलङ, दीपा सुहाङ, प्रितिका बेघा लगायतको साङ्गीतिक प्रस्तुतिसँगै प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसमेत हुने क्लबका सचिव जलन माङ्मु लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रमका विजेता प्रथमलाई आठ हजार, द्वितीय पाँच हजार र तृतीयलाई तीन हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, भलिबल प्रतियोगितातर्फ विजेतालाई ८१ हजार र उपविजेतालाई ४१ हजार रुपियाँ नगद पुरस्कार साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । यता मेलामा सञ्चालन गरिने भलिबल प्रतियोगिता र साङ्गीतिक कार्यक्रम सम्पन्न गर्नलाई ११ लाख रुपियाँ बढी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
आम्बेगुदिनको खाम्दिमेमा विगत १६ वर्षदेखि निरन्तर सङ्घीय मेला आयोजना हुँदै आइरहेको छ । देश सङ्घीय संरचनामा गएसँगै ऐतिहासिक सङ्घीय मेलाको सुरुवात भएको क्लबका सल्लाहकार रक्की थेबेले बताउनुभयो । स्थानीय उत्पादनको व्यापार प्रवद्र्धन साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न सुरु गरिएको पनि आयोजकले जनाएको छ ।