हरिप्रसाद कोइराला
उर्लाबारी, पुस १३ गते । मोरङको उर्लाबारी–९ थक्लुङ चोकका चन्द्र छाराहाङले आफ्ना बुवाको स्मृतिमा एक बिघा पाँच कट्ठा जग्गा नि:शुल्क दिनु भएपछि खेल मैदान निर्माण गर्न थालिएको छ ।
छाराहाङले स्वर्गीय बुवा हस्तबहादुरको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान गर्नु भएको हो । हस्तबहादुर छाराहाङ (आठपहरिया) स्मृति प्रतिष्ठान एवम् स्मारक खेल मैदान संरक्षण तथा सम्वर्ध्दन समितिले खेल मैदान बनाउन थालेको छ।
जग्गा प्राप्त भएपछि स्थानीयले जनश्रमदान समेत गर्न थालेका छन् । खेलमैदान निर्माणका लागि स्थानीय अमृत थक्लुङको अध्यक्षतामा खेलमैदान निर्माण समिति गठन गरिएको छ ।
खेलमैदान निर्माण समितिको उपाध्यक्षमा शान्ति राई, सचिवमा गजेन्द्र राई, सहसचिवमा पूर्णबहादुर दाहाल र कोषाध्यक्षमा चित्रकला खवास रहनुभएको छ । यस्तै सदस्यहरूमा योगेस प्याकुरेल, ओम दर्लामी मगर, लोकेन्द्रबहादुर लिम्बू र कोपिला राई रहनु भएको छ ।
हस्तबहादुर छाराहाङ स्मृति प्रतिष्ठान स्मारक खेल मैदान संरक्षण तथा सम्वर्ध्दन समितिका सचिव गजेन्द्र राईले मैदानका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादातालाई धन्यवाद दिँदै देश विदेशबाट सहयोग जुटिरहेको बताउनुभयो ।
‘‘खेलमैदान नहुँदा वडाका खेलाडीले टाढा गएर अभ्यास गरिरहेका थिए । यहाँ ठुला ठुला खेल प्रतियोगिता गरेर गाउँको चिनारी बढाउने उद्देश्यले खेलमैदान निर्माण गर्न लागेका हौँ,’’ अध्यक्ष अमृत लिम्बूले भन्नुभयो ।
बुवाको स्मृतिमा जग्गादान गर्नुभएका छोरा चन्द्र छाराहाङले भन्नुभयो, ‘‘हाम्रो पिता पुर्खाको नाम जिवन्त सम्म अमर रहन्छ भनेर जग्गा दान गरेको हुँ ।यसलाई स्तरोन्नति गर्न सबैले सहयोग गर्नुभयो भने मैदान बन्छ ।’’ उहाँले भाबी सन्ततिलाई खेलकुदका लागि सहज हुने विश्वास गर्नुभयो।