• १४ पुस २०८१, आइतबार

दिल्लीमा श्रद्धाञ्जली दिनेको भीड

भारतका पूर्वप्रधानमन्त्री सिंहको शनिबार राजकीय सम्मानसहित अन्त्येष्टि

blog

भारतका पूर्वप्रधानमन्त्री स्व.मनमोहन सिंह।

नयाँदिल्ली, पुस १३ गते । भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उहाँका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।

सन् २००४ देखि २०१४ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएपछि सात दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । फूलको मालाले ढाकिएको उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नयाँ दिल्लीस्थित कङ्ग्रेस पार्टीको मुख्यालयमा लगिएको छ । उहाँको पार्थिव शरीरलाई पूर्ण राजकीय सम्मानका साथ आजै अन्त्येष्टि गरिनेछ । 

उहाँको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गर्नुभएको छ । विपक्षी कङ्ग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताउनुभएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिंहलाई ‘सच्चा राजनेता’ को संज्ञा दिँदै भन्नुभयो, “उहाँले आगामी पुस्ताका लागि भारत र समग्र विश्वलाई बलियो बनाउने ऐतिहासिक प्रगतिको खाका तयार पार्नुभएको छ ।” कर्मचारीबाट राजनीतिमा आउनुभएका पूर्व प्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछाङका लागि उहाँलाई उच्च सम्मान गर्ने गरिएको छ । 

सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठुला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा कांग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो । सन् १९३२ मा हाल पाकिस्तानमा रहेको गह गाउँमा जन्मिएका सिंहले तत्कालीन बेलायतशासित भारतमा गरिबी उन्मूलनको उपाय खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभएको बताउने गर्नुहुन्थ्यो । 

उहाँले क्याम्ब्रिज विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो भने अक्सफोर्डबाट विद्यावारिधी पूरा गर्नुभएको थियो । सिंहले वरिष्ठ निजामती सेवामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । भारतीय केन्द्रीय बैङ्कको गभर्नरको रूपमा काम गर्नुभएका उहाँले संयुक्त राष्ट्र सङ्घलगायत विश्वव्यापी निकायहरूमा विभिन्न कामको नेतृत्वसमेत लिनुभएको थियो । 

सन् १९९१ मा तत्कालीन कङ्ग्रेस प्रधानमन्त्री पीभी नरसिंह रावले उहाँलाई अर्थमन्त्रीको रूपमा सेवा गर्ने र भारतलाई आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट मुक्त गर्ने जिम्मा दिनुभएको थियो । उहाँ अर्थमन्त्रीका रूपमा दिएको सफलताले उहाँलाई दुई कार्यकालसम्म प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । 

आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्दै भारतीय अर्थतन्त्रलाई कुशल नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँले संयुक्त राज्य अमेरिकासँग ऐतिहासिक आणविक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियोे जसले भारतलाई भारतको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्न मद्दत गर्नेछ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले सिंहलाई श्रद्धाञ्जली दिँदै भन्नुभएको छ, “सिंहलाई राष्ट्रका लागि उहाँको सेवा, निष्कलङ्क राजनीतिक जीवन र परम विनम्रताका लागि सधैं सम्झना गरिनेछ ।” रासस/एएफपी