• १३ पुस २०८१, शनिबार

इनरुवामा स्थानीय स्तरीय कबड्डी सुरु

blog

सुनसरीको इनरुवामा आयोजित खेलामा खेलाडीले प्रदर्शन गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, पुस १२ गते ।
सुनसरीको इनरुवा नगरपालिका ९ बबियालाई चिनाउन पहिलो पटक जिल्लाभरका स्थानीय तहको सहभागितामा स्थानीय स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ । 

कबड्डी खेलको विकास र स्थानीय खेलाडीको प्रोत्साहनका लागि भन्दै बबिया कबड्डी खेलकुद उपभोक्ता समितिले इनरुवामा पहिलोपटक कबड्डी सुरु गरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ पछाडिको बबिया खेल मैदानमा नगरप्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएको कबड्डी प्रतियोगितामा जिल्लाको १२ वटै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको समितिका जुग्नु साहले जानकारी दिनुभयो ।

साहले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टीमले प्रतिस्पर्धा गरिरहेको जानकारी दिनुभयो ।

कोशी प्रदेशमै जिल्लाका सबै स्थानीय तहहरुको सहभागितामा कबड्डी गरेको उहाँको दाबी रहेको छ । साहले दिनुभएको जानकारी अनुसार जिल्लाको इनरुवा, दुहवी, रामधुनी, वराहक्षेत्र नगरपालिका, धरान र इटहरी उपमहानगरपालिका तथा गढी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नसिंह र कोशी गाउँपालिकाको स्थानीय कबड्डी टिमहरूको सहभागिता रहेको छ ।

जिल्लामै साविक बबिया गाविस हुँदा कबड्डी खेलको माध्यमबाट पहिचान कमाएको र देशको विभिन्न स्थानमा उपाधी चुमेको ऐतिहासिक ठाउँ भएको समेत दाबी गरिएको छ । पहिलो उद्घाटन खेलमा धरान उपमहानगरपालिकालाई पराजित गर्दै गढी गाउँपालिका सेमी फाइनलमा प्रवेश गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाका कबड्डी राष्ट्रिय रेफ्री तरुणकुमार यादव सहितको पहलमा खेलको आयोजना गर्नुभएको छ । उहाँले समेत इनरुवालाई कबड्डीमा चिनाउने काम गर्नुभएको छ ।