• १३ पुस २०८१, शनिबार

‘सुन्दर, सफा र समृद्ध गाउँपालिका बनाउँछौँ’

blog

धनुषाको १८ वटा पालिकामध्येको एक औरही गाउँपालिका जनकपुरधामबाट आठ किलोमिटर पूर्वीमा पर्छ । छ वटा वडा रहेको पालिकामा चार हजार ७९३ परिवार छन् । यस पालिकाको क्षेत्रफल २५.५६ वर्ग किलोमिटर रहेको छ । धार्मिक दृष्टिकोणले महìवपूर्ण मानिएको जमुनी र विमला नदी यही पालिका भएर बग्छ । त्रेता युगमा जगत् जननी जानकी आफ्नो राज्यको परिक्रमा गर्दा विमला नदीमा स्नान गरेको पौराणिक मान्यता अनुसार १५ दिने मिथिला मध्यमा परिक्रमाको समयमा किनारमा विश्राम गर्ने गरिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट पालिका अध्यक्षमा निर्वाचित उमाशङ्करप्रसाद साहसँग गोरखापत्र दैनिकका धनुषा समाचारदाता धर्बेन्द्रकुमार झाले गर्नुभएको कुराकानी : 

निर्वाचनको समयमा जनतासँग गर्नुभएका प्रतिबद्धता के कति पूरा  गर्दै हुनुहुन्छ ?

निर्वाचनका बेला शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने जनतासँग वाचा गरेको थिएँ । सोही अनुसार अहिले कामकाज पनि अगाडि बढाएको छु । पालिकाभित्र पाँच वटा आधारभूत विद्यालय, दुई वटा माध्यमिक विद्यालय र तीन वटा उच्च माध्यमिक विद्यालय सञ्चालनमा छन् । वडा नं. ६ मा रहेको उच्च माध्यमिक विद्यालयमा पठनपाठनलाई ध्यानमा राख्दै अतिरिक्त कक्षाको व्यवस्थापन गरेको छु । विद्यालयहरूमा नियमित पठनपाठन हुनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण तयार भएको छ । त्यसै गरी स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको छ । पालिकाभित्रमा एक स्वास्थ्य केन्द्र र पाँच वटा स्वास्थ्य चौकीबाट नियमित रूपमा सेवा प्रवाह भइरहेको छ । विगतमा सामान्य रूपमा बिरामी पर्दा पनि जनकपुरधाम जानुपर्ने बाध्यता थियो । त्यो बाध्यता अब समाप्त भएको छ । यहाँको स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टर बस्ने गरेको छ । पालिकाभित्रमा दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । मैले जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये केही पूरा गरेको छु । केही पूरा गर्न बाँकी छ । आउने दिनमा त्यसलाई पूरा गर्ने प्रयास गर्छु ।

पूर्वाधार निर्माणको क्षेत्रमा के कस्ता काम गर्दै हुनुहुन्छ ?

गाउँपालिका कार्यालय नै अहिले स्वास्थ्य केन्द्रको भवनमा सञ्चालनमा छ । यो भवन पुरानो र जीर्ण भइसकेको छ । यसअघिका अध्यक्षले नयाँ भवन निर्माणका लागि शिलान्यस गर्नुभएको थियो । हामीले नयाँ भवन निर्माणका लागि पाँच करोड रुपियाँ विनियोजन गरेका छौँ । उचित साइत हेरेर कार्यालय छिट्टै नयाँ भवनमा सारिने छ ।  त्यसपछि कर्मचारीलाई पनि कामकाज गर्न सहज हुन्छ ।  अन्य पूर्वाधारको कुरा गर्दा करिब चार हजार मिटर सडक पिसिसी ढलान भएको छ । १५ शøयाको अस्पतालका लागि भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । केही विद्यालयका भवन पनि निर्माण भइरहेको छ । दुई वटा मदरसा निर्माण पनि भएको छ ।

पालिकाभित्र आन्तरिक स्रोतसाधनको अवस्था के के छन् ? त्यसको परिचालन कसरी गरिरहनुभएको छ ?

हाम्रो पालिकामा आन्तरिक स्रोतको अवस्था न्यून छ । पोखरीहरू हाम्रा पूर्वजले विद्यालयलाई दिइसकेका छन् । आम्दानी आउने भनेको पोखरीबाट हो । त्यसैले पोखरीबाट भएका आम्दानी विद्यालयले नै खर्चिने गरेका छन् । दण्ड जरिबाना र सिफारिस दस्तुरस्वरूप वार्षिक छ लाख रुपियाँ आन्तरिक आम्दानी हुन्छ । त्यसलाई नगरपालिकाको आवश्यकता अनुसार परिचालन गर्ने गरिएको छ ।

सङ्घ र प्रदेश सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो । सहयोग पाउनुभएको छ कि छैन ?

सरकारले पनि विभेद गर्दो रहेछ  भन्ने हामीलाई पनि महसुस भएको छ । सङ्घ र प्रदेश सरकारसँग धेरै अपेक्षा थियो तर त्यो पूरा भएको छैन । सङ्घको त कुरा छोडाँै प्रदेश सरकारले पठाउने ससर्त अनुदानमा समेत भेदभाव हुने गर्छ । विगतमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने पालिकामा बढी रकम पठाउनु र केहीमा पठाउँदै नपठाएको अवस्था पनि हेरियो । अब यस वर्ष मुख्यमन्त्रीले यस विषयमा सुधार गर्ने प्रतिबद्धता गर्नुभएको छ । हेरौँ के हुन्छ । 

पालिकाको काममा के कस्ता चुनौतीको सामना गर्दैै हुनुहुन्छ ?

हामीले एउटा दुइटा होइन, धेरै चुनौतीको सामना गर्नु परेको छ । यस पालिकामा नेकपा (एमाले) बाट अध्यक्ष र उपाध्यक्ष मात्रै हामी जितेका छौँ । वडामा नेपाली कांग्रेसका साथीहरूले जित्नुभएको छ । कार्यपालिकाको बठैकमा हामी अल्पमतमा रहन्छौँ । सामान्य विषयमा पनि अरू दलका साथीहरूले विवाद सिर्जना गरी कामकाज नै प्रभावित गरिदिने जस्ता गतिविधि गर्नुहुन्छ तर म चाहिँ सबैसँग मिलेर काम गर्ने मान्छे हुँ । असन्तुष्ट व्यक्तिसँग पनि हामीले भेटेर समस्याको समाधानका निमित्त प्रयास गरेपछि सबै दलका प्रतिनिधिले कामकाजमा सहयोग पु¥याउँदै आउनुभएको छ । यो समाजका लागि सकारात्मक कुरा हो । हामी मिलेर समस्या र चुनौतीको समाधान गर्ने प्रयास गरिराख्छाँै । 

पालिकामा रहेका दलित तथा विपन्न नागरिकका समस्यालाई कसरी हेर्नुभएको छ ? 

दलित तथा विपन्न वर्गको समस्यालाई मैले नजिकबाट हेरेको छु । दलित बस्तीमा पुग्दा सरसफाइदेखि लिएर शिक्षा, स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका समस्या रहेका छन् । ती समस्या समाधानका लागि  सबैभन्दा पहिले पालिकाभित्रका ७३४ दलित परिवारको स्वास्थ्य बिमा गराएको छु । एक परिवारका लागि बिमा रकम तीन हजार पाँच सय रुपियाँ पालिकाले बिमा कम्पनीलाई तिरिदिएको छ ।  कुनै कारणवश बिरामी पर्दा एक परिवारका बढीमा पाँच सदस्यले उपचारका लागि  एक लाख रुपियाँसम्मको स्वास्थ्य विमा पाउने वातावरणको निर्माण भएको छ । साथै कुनै विपत्ति आउँदा खाने, बस्ने र लुगाको व्यवस्था गर्ने गरेको छु । अब चिसो मौसम आउँदै छ । हामीले विपन्न र दलितका लागि चिसोबाट बच्नका लागि कम्बल र दाउराको व्यवस्थापन गरेका छौँ । साथै विपन्न दलितका पाँच वर्षमुनिका बालबालिकालाई पोषणयुक्त खानाका लागि पोषण भत्ताको व्यवस्थापन गरेका छौँ । ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षाको भत्ता समयमै उपलब्ध गराउने गरेका छौँ ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर के कस्ता योजना ल्याउन लाग्नुभएको छ ?

यहाँको नागरिकको मुख्य पेसा खेतीपाती नै हो । त्यसैले किसानलाई मलखाद र बिउ उपलब्ध गराउने गरेको छु । यस वर्ष पनि घर घरमै गएर किसानलाई गहँुको बिउ वितरण गरिएको छ । प्रत्येक वडामा मलखाद वितरण गर्ने डिलरको व्यवस्थापन गरेको छु । किसानले सहज रूपमा त्यहाँबाट मलखाद लिने गरेका छन् । साथै किसानलाई खेतीपाती गर्नका लागि सिँचाइको आवश्यकता हुन्छ । त्यसैले कृषि विद्युत् मिटर जडान गर्ने तयारी गरेको छु । ट्रान्सफर्मर जडानका लागि विद्युत् प्राधिकरणसँग प्रक्रिया अगाडि बढिसकेको छ । 

यहाँको कार्यकालमा पालिकालाई कस्तो बनाउने योजना छ ? 

बेरुजु फस्र्योटमा औरही गाउँपालिका मधेश प्रदेशमै पहिलो स्थानमा आएको छ । मेरो कार्यकाल सकिनुअघि पालिकालाई एउटा सिस्टममा ल्याएर सुन्दर, सफा र समृद्ध बनाउने योजना छ । जहाँ पालिका नागरिकको मुहारमा खुुसी रहोस् । किसान आत्मनिर्भर बनोस्, युवा विदेश पलायन नहोस् । यसका लागि हरेक पक्षलाई आआफ्नो ठाउँबाट सहयोगका लागि आग्रह गर्दछु  ।