• १५ असार २०८२, आइतबार

घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

blog

बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ मा निर्माण भएको पुल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, पुस ११ गते । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ र ७ लाई जोड्ने घोक्सिला खोलामा ७० मिटर लामो पक्की पुल निर्माण सुरु गरिएको छ ।

गोलन्जोर गाउँपालिकाको बाराहा–घोक्सिला–हैबारबेंसी सडक अन्तर्गत उक्त पुल भर्खरै शिलान्यास गरी निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समयमा बागमती प्रदेश सरकारको सहयोगमा जिल्लाका विभिन्न खोलामा पक्की पुल धमाधम निर्माण भइरहेका छन् । 

घोक्सिला पुल निर्माणका लागि सृजना निर्माण सेवा सिन्धुलीले २०८१ साल जेठ १४ गते सम्झौता गरी २०८२ को मङ्सिर १३ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको निर्माण लागत नौ करोड ४५ लाख ३७ हजार एक सय २४ रुपियाँ छ । यो पुल बनेपछि मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई समेत सहज हुने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । गोलन्जोर गाउँपालिका–६ हैबारस्थित अक्करे भीरमा वर्षाको मौसममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदै आएको छ ।

घोक्सिला पुल निर्माण सम्पन्न भएपछि गोलन्जोर गाउँपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयहरुलाई बाह्रै महिना आवतजावत गर्न सहज हुने स्थानीयले बताएका छन् । सृजना निर्माण सेवा सिन्धुलीका प्रोपाइटर उद्धव दाहालले सम्झौताभित्रै उक्त पुल निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लाका विभिन्न खोलानालामा हालसम्म बागमती प्रदेश सरकारको सहयोगमा दश वटा पक्की पुल निर्माण भइसकेका छन् । त्यस्तै आठ वटा नयाँ पुलको डिपिआर तयार गरी ठेक्का सम्झौता भई निर्माण सुरु भएको छ । सोहीमध्येको घोक्सिला पुल हो । 

जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष ०८०-०८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर हेमन्त गाँईले बाँकी निर्माणाधीन हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल र सुनकोशी गाउँपालिका–७ को आरुबोटे खोला पुल चालु आर्थिक वर्ष ०८१-०८२ को असार मसान्तसम्म सकिने जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष ०८०-०८१ मा नै जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरुमा छ वटा नयाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरी ठेक्का लागिसकेको छ । ठेक्का लागेका नयाँ पक्की पुलहरुमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोर खोला पुल, टाँडीखोला पुल, सुनकोशी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४मा नै ग्वाङखोला पुल छन् ।

बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी अरु पुलको निर्माण अवधि एक वर्ष रहेको कार्यालयले जनाएको छ ।