अस्ताना (कजाकिस्तान), पुस १० गते । पश्चिमी कजाकिस्तानमा अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमानमा चरा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक कारण बताइएको छ ।
कजाकिस्तानका अधिकारीहरूले बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्यासको केन्द्र अक्टाउ शहर नजिकै बुधबार दुर्घटना भएको थियो । दुर्घटनाको प्रारम्भिक निष्कर्षमा चरा ठोक्किएको देखिएको बताइएको हो ।
मन्त्रालयले दुर्घटनाबाट २८ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । जहाजमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए ।
कजाख सञ्चारमाध्यमका अनुसार जहाजमा रहेका यात्रुमा अजरबैजानका ३७, रुसका १६, कजाकिस्तानका ६ र किर्गिस्तानका तीन जना नागरिक थिए ।
एमईएसले विमानमा आगो लागेको अवस्थामा ५२ जना कर्मचारी र ११ थान उपकरण पठाएको थियो । एम्ब्रेयर १९० विमान यसको क्याबिन कन्फिगरेसन अनुसार ९६ देखि ११४ यात्रु बोक्ने गरी डिजाइन गरिएको हो ।
यो विमान चार हजार पाँच सय किलोमिटरसम्म उड्न सक्छ । फ्लाइटअवेयरका अनुसार विमान बाकुबाट निर्धारित समयभन्दा ११ मिनेट अगाडि उडेको थियो । क्यास्पियन सागरमा उडान गर्दा यसले आपतकालीन सङ्केत जारी गर्यो ।
अजरबैजानी सञ्चारमाध्यमले कुहिरोका कारण ग्रोज्नीमा अवतरण गर्ने अनुमति प्राप्त गर्न नसकेको जनाएको छ । जसले गर्दा यसलाई मखाचकला र पछि अक्ताउमा पुर्याइएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल