• १२ पुस २०८१, शुक्रबार

'सहकारी पीडितहरुको रकम फिर्ता गर्ने काममा सरकार लागेको छ'

blog

वसन्त पराजुली 

नारायणगढ, पुस ११ गते । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी पीडितहरुको रकम व्यवस्थित रुपमा फिर्ता गर्ने काममा सरकार लागेको बताउनुभएको छ । 

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले सहकारी पिडकलाई कारबाही र पीडितलाई रकम फिर्ता गर्ने कामसँगै अगाडि बढेको जानकारी दिनुभयो । “सरकारले अध्यादेशवाट सहकारी समस्या समाधान गर्ने प्रयास गरेको छ । पहिला पीडितहरुको रकम व्यवस्थित रुपमा फिर्ता गराउने सरकारको दायित्व हो”, उहाँले थप्नुभयो, “पीडकलाई कारबाही पनि हुने र पीडितको पैसा फिर्ता गराउने सिस्टम बसाउन सरकार अहिले लागेको छ ।” 

सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथिको कारवाही के गर्ने कसरी गर्ने भन्ने कुरा कानुनी प्रक्रिया आफैँमा स्वतन्त्र रहेको उहाँले बताउनुभयो ।  

“हामी त कानुनी राज्यका लागि लडेको पार्टीका कार्यकर्ता हौँ । राज्यले गर्ने भनेको अनुसन्धानलाई निष्पक्ष छोड्दिने हो । यो के कसरी गर्ने भन्ने कुरा मुद्दा कसरी चलाउने भन्ने कुरा कानुनी रुपमा स्वतन्त्र रुपमा अगाडि बढाउने कुरा हो । यसमा कसैले हस्तक्षेप गर्नुुहुँदैन ।” 

“रुलअफ ल म्यान्टेड ए बि सि डि सबैलाई समान हुन्छ”, उहाँले भन्नुभयो । सरकार फेरबदलका कुरा भने अहिले सम्भव नभएको उहाँले बताउनुभयो। 

“सातबुँदे समझदारी अनुसार सरकार अगाडि बढेको छ । आगामी निर्वाचनसम्म यही काँग्रेस एमालेको सरकार रहन्छ । अहिले हामी समझदारी अनुसार अगाडि बढेका छाैं । यसमा कत्ति फरक पर्नेछैन”, उहाँले भन्नुभयो । 

संविधान लेखन तथा संशोधन गर्ने कुरा निश्चित विधि प्रक्रिया पूरा गरेर मात्रै सम्भव भएको उहाँले बताउनुभयो । “दुई दुई पटक संविधान सभाको निर्वाचन गरेर संविधान लेखेको कुरा हो नि त । विधि प्रक्रिया पूरा गरेर गरिने संविधान संशोधनको काम त एउटा दलले गरेर मात्रै हुँदैन । संविधानको दफा दफामा छलफल गरेर दुई तिहाई बहुमत पुर्‍याएर संशोधन गर्नुपर्ने संविधानका लागि धेरैभन्दा धेरै दलको सहमति चाहिन्छ । अहिले सरकार त्यही सहमति जुटाउन लागिरहेको छ”, उहाँले भन्नुभयो । 

आजैबाट सुरु भएको हात्ती महोत्सवको उद्घाटन गर्न आउनुभएका उपप्रधानमन्त्री सिंहले मेला महोत्सवहरुले देशको आर्थिक गतिविधि चलायमान गर्न सहयोग गर्ने बताउनुभयो । 

“आर्थिक गतिविधिलाई सहयोग गर्न गरिने यस्ता मेला महोत्सव नहोस् भन्ने तत्वहरुवाट बच्नुपर्छ । यिनीहरुले गलत सन्देश दिन्छन्  । मेला महोत्सवको प्रोत्साहित गर्ने काम सरकारले गर्नुपर्छ । नेपालको पर्यटनबाट आर्थिक विकासमा टेवा दिने भएकाले यस्ता महोत्सवहरुको बढावा दिनुपर्छ ”, उहाँले भन्नुभयो ।